पर्सा पोस्ट, साउन २३ गते, वीरगञ्ज।
वीरगञ्जमा पछिल्ला केही दिनदेखि देखिएको खाना पकाउने एलपी ग्यास अभावको वास्तविक कारण मागअनुसार आपूर्ति हुन नसक्नु र उद्योग तथा डिलरबीचको वितरण प्रणाली प्रभावकारी नहुनु रहेको तथ्य शनिबार गरिएको संयुक्त बजार अनुगमनबाट उजागर भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल स्वयं अनुगमनमा निस्किएपछि अधिकांश ग्यास डिलरमा भरिएका सिलिन्डर न्यून भए पनि सयौँको संख्यामा खाली सिलिन्डर थुप्रिएको अवस्था फेला परेको हो।

अनुगमनपछि प्रमुख जिल्ला अधिकारी दाहालले अहिलेको अवस्थामा पर्सा र बारामा रहेका ग्यास उद्योगहरू अझ बढी जिम्मेवार बन्नुपर्ने आवश्यकता रहेको बताए। उनले उद्योगहरूले माग र आपूर्तिबीचको सन्तुलन कायम गर्न नसक्दा बजारमा समस्या उत्पन्न भएको उल्लेख गर्दै डिलरहरूमा रहेका खाली सिलिन्डर तत्काल संकलन गरी ग्यास भरेर पुनः वितरण गरे मात्रै उपभोक्ताले राहत पाउने बताए।

उनले पर्सा र बारामा उद्योगअनुसार पर्याप्त आपूर्ति हुन नसकेको देखिएकाले उद्योगहरूसँग तत्काल परामर्श गरी डिलरमा रहेका खाली सिलिन्डर संकलन गरेर फिलिङ गरी बजारमा पर्याप्त मात्रामा पठाउने व्यवस्था गर्न प्रशासनले पहल गर्ने जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी दाहालको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा र कृष्णप्रसाद चापागाईं, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्की, नेपाल आयल निगम वीरगञ्जका प्रमुख मोहनकुमार साह, गुणस्तर तथा नापतौल कार्यालयका प्रतिनिधि, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका मधुलेश साह, उपभोक्ता संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य अजित भुजेल तथा ग्यास बिक्रेता संघ पर्साका अध्यक्ष वीरेन्द्र साहलगायतको टोलीले वीरगञ्जका विभिन्न ग्यास डिलर तथा गोदामको अनुगमन गरेको थियो।
टोलीले सीडीओ कार्यालय पछाडि, बनारसी चोक, रानीघाट, श्रीपुर, ओमआश्रम, पानीटंकी, रेशमकोठी तथा ६ नम्बर गेट क्षेत्रमा रहेका ग्यास डिलरमा पुगेर मौज्दात, आपूर्ति र वितरण अवस्थाको स्थलगत निरीक्षण गरेको थियो।
अनुगमनका क्रममा अधिकांश डिलरमा भरिएका सिलिन्डर अत्यन्त न्यून रहेको पाइयो। डिलर सञ्चालकहरूले उद्योगबाट समयमै पर्याप्त ग्यास नआएकाले उपभोक्ताको माग पूरा गर्न नसकिएको बताएका थिए।
यता ग्यास उद्योगहरूले भने आफूहरूसँग पर्याप्त खाली सिलिन्डर उपलब्ध नभएकाले समयमा ग्यास भरेर पठाउन समस्या भएको दाबी गर्दै आएका छन्। तर प्रशासनको अनुगमनले उद्योगहरूको यही दाबीमाथि गम्भीर प्रश्न उठाएको छ।
अनुगमनका क्रममा एउटा डिलरमै करिब ४८० वटा खाली ग्यास सिलिन्डर मौज्दात रहेको भेटिएको थियो। अन्य डिलर तथा गोदाममा पनि ३५०, २५०, १०० र ५० वटासम्म खाली सिलिन्डर थुप्रिएको अवस्था फेला परेको छ। यसले उद्योगहरूले देखाउँदै आएको ‘खाली सिलिन्डर अभाव’को कारण विश्वसनीय नरहेको संकेत गरेको छ।
अनुगमनमा सहभागी एक ग्यास बिक्रेताले नाम नखुलाउने सर्तमा पर्सा पोस्टसँग कुरा गर्दै केही उद्योगहरूले पर्याप्त खाली सिलिन्डर हुँदाहुँदै पनि नयाँ सिलिन्डर खरिद गर्न उपभोक्तालाई बाध्य पार्ने प्रवृत्ति रहेको आरोप लगाए। उनका अनुसार डिलरमा खाली सिलिन्डर प्रशस्त हुँदाहुँदै उद्योगले ‘हामीसँग खाली सिलिन्डर छैन’ भन्ने बहाना बनाउने र त्यसबाट नयाँ सिलिन्डर बिक्री बढाउने प्रयास हुने गरेको छ। यस्तो अभ्यासले उपभोक्तामाथि अनावश्यक आर्थिक भार पर्ने र बजारमा कृत्रिम अभावको वातावरण सिर्जना हुने उनको दाबी छ।

ती ग्यास बिक्रेताले डिलरहरूको पीडा पनि सुनाए। उनका अनुसार डिलरहरूको काम ग्यास उपलब्ध भए जति बिक्री गर्नु मात्रै हो। “हामीलाई जति ग्यास आउँछ, त्यति नै बिक्री गर्ने हो। त्यसबाट केही कमाइ हुन्छ, तर यो हाम्रो रहर होइन, बाध्यता हो। लाखौँ रुपैयाँ लगानी गरेर व्यवसाय गरेका छौँ, तर अन्ततः भारी बोक्ने कुल्लीजस्तै काम गर्नुपरेको छ। उपभोक्ताको गाली पनि हामीले नै खानुपर्छ। अझ कतिपयले सबै डिलरलाई कालोबजारी गर्ने भनेर आरोप लगाउँछन्। एक–दुई जनाले गल्ती गरे होलान्, तर सबैलाई एउटै नजरले हेर्नु न्यायसंगत हुँदैन,” उनले गुनासो गरे।
वीरगञ्जमा ग्यास नपाएर उपभोक्ताहरू एक डिलरबाट अर्को डिलर धाउन बाध्य भएका छन्। धेरै उपभोक्ता दिनभरि खोज्दा पनि ग्यास नपाएर रित्तै घर फर्किने अवस्था देखिएको छ।
शनिबारको अनुगमनले बजारमा देखिएको अभाव केवल उत्पादनको समस्या मात्रै नभई आपूर्ति, संकलन र वितरण प्रणालीको कमजोरीसँग पनि जोडिएको स्पष्ट संकेत दिएको छ। डिलरमा सयौँ खाली सिलिन्डर थन्किएर बस्ने तर उद्योगले सिलिन्डर अभावको कारण देखाउने अवस्थाले ग्यास वितरण प्रणालीलाई अझ पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएको छ।
प्रशासनले अब उद्योग, डिलर र सम्बन्धित निकायसँग समन्वय गरी मागअनुसार नियमित आपूर्ति सुनिश्चित गर्न तथा कृत्रिम अभाव सिर्जना हुने अवस्थामाथि कडा निगरानी गर्ने जनाएको छ। उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण बनाउन उद्योग र वितरण सञ्जाल दुवै पक्षले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने आवश्यकता यस अनुगमनले थप स्पष्ट पारेको छ।
