बिरगंजमा नियमित बजार अनुगमन : दर्ताविहीन मिठाई उद्योगलाई रु.५० हजार जरिवाना , बिग्रिएको रसवरी र मिल्क केक नष्ट

Date:

पर्सा पोस्ट, साउन २२ गते, वीरगञ्ज।
जिल्ला प्रशासन कार्यालय पर्साको नेतृत्वमा शुक्रबार पनि वीरगञ्जका विभिन्न खाद्य उद्योग तथा मिठाई पसलमा नियमित संयुक्त बजार अनुगमन गरिएको छ। अनुगमनका क्रममा दर्ताविना सञ्चालन भइरहेको मिठाई उद्योगलाई कारबाही गर्नुका साथै गुणस्तरहीन खाद्य सामग्री जफत गरी नष्ट गरिएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको नेतृत्वमा भएको अनुगमन टोलीले वीरगञ्ज महानगरपालिका–२४, ज्योतिनगरस्थित गोपाल मिष्ठान भण्डारमा अनुगमन गर्दा उद्योग कुनै पनि सम्बन्धित निकायमा दर्ता नगरी सञ्चालन भइरहेको भेटिएको थियो। साथै बिक्रीका लागि राखिएको रसबरी मिठाईमा किरा परेको तथा चिनीको चासनीसमेत बिग्रिएको अवस्थामा फेला परेपछि करिब २०–२५ किलोग्राम रसबरी र चासनी जफत गरी तत्काल नष्ट गरिएको थियो।

उक्त उद्योगका सञ्चालक जितेश मिश्रालाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए।
त्यसैगरी वीरगञ्ज महानगरपालिका–१६, इनर्वास्थित माँ गहवा फुड प्रोडक्ट्समा गरिएको अनुगमनका क्रममा बिक्रीका लागि तयारी अवस्थामा राखिएको १४० किलोग्राम मिल्क केकमा कम्पनीको नाम, उत्पादन मिति, उपभोग्य अवधि (एक्स्पायरी), अधिकतम खुद्रा मूल्य (एमआरपी) तथा तौलसमेत उल्लेख नगरी बिक्रीका लागि राखिएको पाइएको थियो।

उक्त सामग्री उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत रहेको ठहर गर्दै सम्पूर्ण १४० किलोग्राम मिल्क केक जफत गरी नष्ट गरिएको छ। साथै उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८(ट) बमोजिम कसुर गरेको ठहर गर्दै सोही ऐनको दफा ३९(घ) अनुसार उद्योगलाई रु. ५० हजार जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए।
अनुगमनमा सहभागी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पर्साका खाद्य अधिकृत श्रवण कुमार साहले दर्ताविना खाद्य उद्योग सञ्चालन गर्नु, लेबलबिनाका खाद्य वस्तु उत्पादन तथा बिक्री गर्नु र उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पुग्ने गरी बिग्रेका तथा अखाद्य सामग्री बिक्री गर्नु गम्भीर कानुनी अपराध भएको बताए।

उनले सबै खाद्य व्यवसायीलाई सम्बन्धित निकायमा अनिवार्य रूपमा उद्योग दर्ता गरी खाद्य स्वच्छता तथा गुणस्तरका मापदण्ड पालना गर्दै मात्र उत्पादन तथा बिक्री–वितरण गर्न निर्देशन दिइएको जानकारी दिए। “उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने जोसुकै व्यवसायी भए पनि कानुनअनुसार कडा कारबाही गरिन्छ। बजार अनुगमन आगामी दिनमा अझ प्रभावकारी रूपमा निरन्तर सञ्चालन हुनेछ,” खाद्य अधिकृत साहले बताए।

शुक्रबारको संयुक्त बजार अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्की, उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य अजित कुमार भुजेल, पर्सा जिल्ला सदस्य प्रकाश कुमार शाह, जिल्ला प्रशासन कार्यालयका कृष्ण कुशवाह, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका आशुतोष कुशवाह, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पर्साका खाद्य अधिकृत श्रवण कुमार साह तथा पत्रकार दीपक गौतमको सहभागिता रहेको थियो।

अनुगमन टोलीले उपभोक्ताको स्वास्थ्य र अधिकारमाथि खेलवाड गर्ने व्यवसायीलाई कुनै पनि हालतमा छुट नदिइने स्पष्ट गर्दै बजारलाई स्वच्छ, सुरक्षित र गुणस्तरीय बनाउन नियमित अनुगमनलाई अझ तीव्र बनाइने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...

वीरगञ्ज–२ छपकैयाबाट रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...