पर्सा पोस्ट , साउन १८ गते , वीरगञ्ज ।
रोटरी डायग्नोस्टिक सेन्टर, वीरगञ्जद्वारा सञ्चालित रोटरी महावीर जयपुर फुट पुनर्स्थापना केन्द्र अन्तर्गतको रोटरी कृत्रिम हात परियोजना मार्फत मंगलबार निःशुल्क कृत्रिम हात तथा खुट्टा वितरण कार्यक्रम सम्पन्न भएको छ। आर्थिक अवस्था कमजोर भएका तथा दुर्घटना, रोग वा अन्य कारणले हात–खुट्टा गुमाएका व्यक्तिहरूलाई पुनः आत्मनिर्भर र सम्मानपूर्वक जीवनयापनमा फर्काउने उद्देश्यले सञ्चालन गरिएको यस परियोजनाबाट हालसम्म ११ सयभन्दा बढी व्यक्तिले प्रत्यक्ष लाभ लिएको केन्द्रले जनाएको छ।

वीरगञ्ज महानगरपालिका–४ स्थित नारायणी अस्पताल पछाडि रहेको रोटरी डायग्नोस्टिक सेन्टरमा आयोजित कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा वीरगञ्जस्थित डीएभी स्कुलका कक्षा ११ विज्ञान संकायका विद्यार्थीहरूले पनि परियोजनाको अवलोकन गर्दै कृत्रिम अंग निर्माण, फिटिङ र पुनर्स्थापना प्रक्रियाबारे जानकारी लिएका थिए।
यस अवसरमा अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाबाट आएका राधा पौडेल, थमन सिंह ताम्राकार र झबिन्द्र बहादुरलाई निःशुल्क कृत्रिम हात तथा खुट्टा जडान गरी हस्तान्तरण गरिएको थियो। दुर्घटनाका कारण हात गुमाएकी राधा पौडेल तथा खुट्टा गुमाएका थमन सिंह ताम्राकार र झबिन्द्र बहादुरले कृत्रिम अंग पाएपछि आफ्नो दैनिकी सहज बनेको र नयाँ जीवन पाएको अनुभूति भएको भन्दै रोटरी परिवारप्रति कृतज्ञता व्यक्त गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सरोज प्रसाद चौधरीले रोटरी महावीर जयपुर फुट पुनर्स्थापना केन्द्रले गर्दै आएको सेवा मानवीय संवेदनाको उत्कृष्ट उदाहरण भएको बताए। उनले शारीरिक अंग गुमाएका व्यक्तिलाई निःशुल्क कृत्रिम अंग उपलब्ध गराएर आत्मविश्वास र सम्मानका साथ समाजमा पुनः स्थापित गराउने कार्य अत्यन्त प्रशंसनीय रहेको उल्लेख गरे।
उनले भने, “रोटरीले केवल कृत्रिम हात–खुट्टा मात्र वितरण गरेको होइन, आशा, आत्मविश्वास र नयाँ जीवन प्रदान गरेको छ। यस्ता सेवामूलक अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउने भएकाले सबै पक्षबाट सहयोग र प्रोत्साहन आवश्यक छ।”
उनले डीएभी स्कुलका विद्यार्थीहरूले यस्ता सामाजिक सेवामूलक कार्यक्रमको प्रत्यक्ष अवलोकन गर्न पाउनु सकारात्मक पक्ष भएको उल्लेख गर्दै यसबाट उनीहरूमा सेवा भावना, सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको विकास हुने विश्वास व्यक्त गरे।
कार्यक्रम रोटरी क्लब अफ वीरगञ्जका नवनिर्वाचित अध्यक्ष रोटेरियन राकेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रोजेक्ट कोअर्डिनेटर डा. शाश्वत प्रसाद, सदस्य डा. आनन्द कुमार झा, रोटेरियन अभिषेक चौधरी लगायत रोटरीका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
केन्द्रका अनुसार विगत पाँच वर्षदेखि निरन्तर सञ्चालनमा रहेको यस पुनर्स्थापना कार्यक्रमले आर्थिक रूपमा विपन्न, दुर्घटना तथा विभिन्न रोगका कारण हात–खुट्टा गुमाएका व्यक्तिहरूलाई निःशुल्क कृत्रिम अंग उपलब्ध गराउँदै आएको छ। कृत्रिम अंग जडानसँगै आवश्यक परामर्श, प्रयोगसम्बन्धी प्रशिक्षण तथा पुनर्स्थापनासम्बन्धी सहयोगसमेत उपलब्ध गराइँदै आएको केन्द्रले जनाएको छ।
केन्द्रले आगामी दिनमा सेवा विस्तार गर्दै दुर्गम तथा पहुँचबाहिर रहेका आवश्यकतामन्द नागरिकसम्म पनि निःशुल्क कृत्रिम हात–खुट्टा सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ। यस परियोजनाले हजारौं अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा आशा, आत्मनिर्भरता र सम्मानको नयाँ अध्याय थप्दै सामाजिक सेवाको उदाहरणीय अभियानका रूपमा आफ्नो पहिचान स्थापित गर्दै आएको छ।