पर्सा पोस्ट, साउन १८ गते, रक्सौल (पूर्वी चम्पारण)।
सृष्टिको आदिकालदेखि प्रकृति र अध्यात्मबीच गहिरो सम्बन्ध रहँदै आएको उल्लेख गर्दै समाजसेवी बिमल सर्राफले पवित्र साउन महिना आत्मशुद्धि, संयम, सेवा र आध्यात्मिक जागरणको अनुपम अवसर भएको बताउनुभएको छ।
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२२ ई का जोनल चेयरपर्सन तथा डिस्ट्रिक्ट चेयरपर्सन, भारत विकास परिषद् रक्सौलका सेवा संयोजक, मिडिया प्रभारी एवं समाजसेवी बिमल सर्राफले सञ्चारकर्मीसँग कुराकानी गर्दै साउन केवल धार्मिक आस्थाको महिना मात्र नभई मानव जीवनलाई सकारात्मक दिशामा अघि बढाउने प्रेरणादायी समय भएको धारणा व्यक्त गर्नुभयो।
उहाँले भगवान शिव त्याग, करुणा, समानता, तपस्या र आत्मसंयमका प्रतीक भएको उल्लेख गर्दै मानिसले सबैभन्दा ठूलो विजय आफ्नै मन, इच्छा र विकारमाथि प्राप्त गर्नुपर्ने सन्देश शिवजीको जीवनबाट सिक्न सकिने बताउनुभयो।
सर्राफका अनुसार आधुनिक जीवनशैलीमा भौतिक सुविधा बढ्दै गए पनि मानसिक शान्ति, आत्मीयता र मानवीय सम्बन्ध कमजोर बन्दै गएकाले शिवको सादगी, सन्तुलन र संयमयुक्त जीवनशैली आजको समाजका लागि झन् सान्दर्भिक बनेको छ।
उहाँले समुद्र मन्थनका क्रममा भगवान शिवले सम्पूर्ण सृष्टिको रक्षाका लागि हलाहल विष पान गरेको प्रसङ्ग स्मरण गर्दै साँचो नेतृत्व व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाज र मानवताको हितका लागि त्याग गर्न सक्ने व्यक्तिमा निहित रहने बताउनुभयो।
साउन महिनामा गरिने जलाभिषेक, व्रत तथा पूजा–आराधनाको धार्मिक महत्त्व स्वीकार गर्दै उहाँले पूजा मात्र पर्याप्त नहुने उल्लेख गर्नुभयो। सत्य, दया, क्षमा, इमानदारी, सेवा र सदाचारलाई जीवनमा अपनाउँदा मात्र शिवभक्ति सार्थक हुने उहाँको भनाइ थियो।
उहाँले परिवारप्रति जिम्मेवार बन्ने, अभिभावकको सम्मान गर्ने, दुःखी र असहायको सहयोग गर्ने, क्रोध र लोभलाई नियन्त्रण गर्ने तथा समाजमा सद्भाव कायम गर्ने कार्यलाई नै वास्तविक तप र साधना भएको उल्लेख गर्नुभयो।
प्रकृति संरक्षणलाई पनि शिव आराधनासँग जोड्दै सर्राफले रुख रोप्ने, पानीको संरक्षण गर्ने, नदी तथा वातावरण स्वच्छ राख्ने कार्य प्रत्येक नागरिकको दायित्व भएको बताउनुभयो। प्रकृतिको संरक्षण नै भगवान शिवप्रतिको सच्चा सम्मान हुने उहाँले जोड दिनुभयो।
समाजमा बढ्दो असहिष्णुता, तनाव, स्वार्थ र विभाजनका बीच साउन महिनाले प्रेम, सहिष्णुता, आत्मचिन्तन र सकारात्मक सोचको सन्देश दिने उल्लेख गर्दै उहाँले मानिसले अरूलाई बदल्नुभन्दा पहिले आफूलाई सुधार्ने संस्कार विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
अन्त्यमा सर्राफले यस पवित्र साउन महिनामा भगवान शिवलाई मन्दिरमा मात्र नभई आफ्ना विचार, व्यवहार, चरित्र र कर्ममा पनि स्थापित गर्ने संकल्प गर्न सम्पूर्ण श्रद्धालु तथा नागरिकलाई आग्रह गर्नुभयो। उहाँले मानव सेवा, करुणा, सत्य र सदाचारयुक्त जीवन नै शिवत्व प्राप्त गर्ने सर्वोत्तम मार्ग भएको विश्वास व्यक्त गर्नुभयो।