नवनियुक्त एसपी पवन भट्टराईसँग ग्रीनसिटीको परिचयात्मक अन्तरक्रिया, समुदाय–प्रहरी सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता

Date:

पर्सा पोस्ट, साउन १८ गते, वीरगञ्ज।
ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको आयोजनामा जिल्ला प्रहरी कार्यालय पर्साका नवनियुक्त प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रका पदाधिकारी, आजीवन सदस्य तथा समाजका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा केन्द्रका सल्लाहकार सुरेश रुङटा, जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी राजु कार्की, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख विक्रम सुवेदी, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई, सञ्चारकर्मी अभिलाष गुप्ता लगायत विभिन्न सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
अन्तरक्रियाका क्रममा सहभागीहरूले पर्सा जिल्लाको शान्ति सुरक्षा, लागूऔषध नियन्त्रण, ट्राफिक व्यवस्थापन, चोरी तथा अपराध नियन्त्रण, समुदाय–प्रहरी साझेदारी तथा सामाजिक सचेतनाका विषयमा आफ्ना सुझाव तथा धारणा राखेका थिए।

नवनियुक्त एसपी पवन भट्टराईले समुदाय र प्रहरीबीचको विश्वास तथा सहकार्यलाई अझ सुदृढ बनाउँदै जिल्लाको शान्ति सुरक्षा कायम गर्न आफू प्रतिबद्ध रहेको बताए। उनले अपराध नियन्त्रणमा प्रहरी एक्लैले सफलता हासिल गर्न नसक्ने उल्लेख गर्दै नागरिक, सामाजिक संस्था र सञ्चारमाध्यमको सहयोग अपरिहार्य रहेको धारणा व्यक्त गरे।
उनले भने, “प्रहरी र समुदायबीचको समन्वय नै प्रभावकारी सुरक्षा व्यवस्थाको आधार हो। पर्सामा कानुनको शासन कायम गर्दै नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न हामी पूर्ण रूपमा प्रतिबद्ध छौं। समुदायबाट प्राप्त हुने सूचना, सुझाव र सहकार्यलाई उच्च प्राथमिकता दिइनेछ।”
एसपी भट्टराईले सामाजिक संघसंस्थाले सञ्चालन गर्दै आएका जनचेतनामूलक अभियानको प्रशंसा गर्दै यस्ता कार्यक्रमले अपराध न्यूनीकरण, सामाजिक सद्भाव कायम गर्न तथा सुरक्षित समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा अध्यक्ष जयप्रकाश खेतानले ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पर्सा जिल्लामा सरुवा भएर आउने प्रहरी प्रशासनका प्रमुखहरूको स्वागत तथा सम्मान गर्ने परम्परा रहँदै आएको जानकारी दिए। उनले नयाँ प्रहरी नेतृत्वसँग परिचय, समन्वय र सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले यस्ता परिचयात्मक कार्यक्रम नियमित रूपमा आयोजना गरिने बताए।

अध्यक्ष खेतानका अनुसार केन्द्रले प्रहरी प्रशासनसँग सहकार्य गर्दै लागूऔषध दुर्व्यसन नियन्त्रण, ट्राफिक सचेतना, वातावरण संरक्षण, सरसफाइ, युवा परिचालन, अपराध न्यूनीकरण तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस्ता गतिविधिले समुदाय र प्रहरीबीच विश्वासको सम्बन्ध अझ मजबुत बनाउने विश्वास समेत उनले व्यक्त गरे।

खेतानले पर्सामा कार्यकाल पूरा गरी अन्यत्र सरुवा भएर जाने प्रहरी प्रशासनका प्रमुखहरूको योगदानको सम्मानस्वरूप विशेष बिदाइ कार्यक्रमसमेत आयोजना गर्ने परम्परा रहेको उल्लेख गर्दै, उनीहरूले जिल्लामा पुर्‍याएको योगदानको कदर गर्दै “फेरि भेटौँला” भन्ने भावनासहित सम्मानपूर्वक बिदाइ गरिने बताए। यसले प्रहरी प्रशासन र समुदायबीचको आत्मीय सम्बन्धलाई दीर्घकालीन रूपमा बलियो बनाएको उनको भनाइ थियो।

कार्यक्रमको अन्त्यमा अध्यक्ष खेतानले नवनियुक्त एसपी भट्टराईलाई स्वागत गर्दै आगामी दिनमा समुदाय र प्रहरीबीच अझ प्रभावकारी सहकार्य गर्दै शान्त, सुरक्षित र अपराधमुक्त समाज निर्माणका लागि संयुक्त रूपमा जनचेतनामूलक तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बसपार्कमा वृक्षारोपण अभियान तीव्र, ‘हरित र सुन्दर वीरगन्ज’ बनाउने महानगरको लक्ष्य

पर्सा पोस्ट, साउन ३० गते, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण...

विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ आर्थिक सहयोग

पर्सा पोस्ट, साउन २९ गते, वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकास्थित...

सामुदायिक प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन एसपी पवन भट्टराईको प्रतिबद्धता

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र,...