पर्सा पोस्ट, साउन १६ गते, वीरगञ्ज।
नेपालमा उद्यमशीलता, नवप्रवर्तन (इनोभेसन), स्टार्टअप विकास तथा युवा उद्यमीहरूको क्षमता अभिवृद्धिलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्ज च्याप्टर र द स्टार्टअप नेटवर्क (टीएसएन) बीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ।
शनिबार वीरगञ्जमा आयोजित विशेष समारोहमा एनवाईईएफ वीरगञ्ज च्याप्टरका स्टार्टअप चेयर अतुल राउतको नेतृत्वमा दुवै संस्थाबीच औपचारिक रूपमा समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो। उक्त सहकार्यले नेपालमा स्टार्टअपमैत्री वातावरण निर्माण गर्दै नवप्रवर्तनमा आधारित उद्यमलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
समारोहमा वीरगञ्ज उद्योग वाणिज्य संघ (बीआईसीसीआई) का अध्यक्ष हरि गौतम, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मधेश प्रदेशका पूर्व अध्यक्ष (आईपीपी) अशोक टेमानी, बीआईसीसीआईका उपाध्यक्ष माधव राजपाल, नेपाल–भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई) का अध्यक्ष अभिषेक चौधरी, द स्टार्टअप नेटवर्कका अध्यक्ष सुदीप रौनियार तथा दुवै संस्थाका पदाधिकारी, सदस्य एवं युवा उद्यमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समझदारीअनुसार दुवै संस्थाले संयुक्त रूपमा उद्यमशीलता विकाससम्बन्धी सेमिनार, कार्यशाला, क्षमता अभिवृद्धि तालिम, स्टार्टअप लक्षित मेन्टरसिप कार्यक्रम, नेटवर्किङ सेसन, लगानीकर्तासँग अन्तरक्रिया तथा नवप्रवर्तनमा आधारित विभिन्न कार्यक्रम सञ्चालन गर्नेछन्। साथै, व्यवसाय सुरु गर्न चाहने युवालाई आवश्यक ज्ञान, सीप, व्यावसायिक परामर्श र अवसरसँग जोड्ने साझा पहलसमेत गरिने जनाइएको छ।
कार्यक्रमका वक्ताहरूले नेपालमा स्टार्टअप संस्कृति विस्तार हुँदै गएको उल्लेख गर्दै निजी क्षेत्र, उद्योग वाणिज्य संघ, उद्यमी संस्था तथा नवप्रवर्तन क्षेत्रमा सक्रिय युवाबीचको सहकार्य समयको आवश्यकता भएको बताए। उनीहरूले यस्ता साझेदारीले रोजगारी सिर्जना, स्थानीय उत्पादनको प्रवर्द्धन तथा आर्थिक गतिविधिलाई गतिशील बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरे।
दुवै संस्थाका प्रतिनिधिहरूले यस समझदारीले विशेषगरी मधेश प्रदेशका युवा उद्यमीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको सञ्जाल, लगानीका अवसर, प्रविधिमैत्री व्यवसाय विकास र नवीन सोचलाई व्यावसायिक रूपान्तरण गर्न महत्वपूर्ण आधार तयार गर्ने विश्वास व्यक्त गरेका छन्।
एनवाईईएफ वीरगञ्ज च्याप्टर र द स्टार्टअप नेटवर्कबीच भएको यो सहकार्यलाई नेपालको स्टार्टअप इकोसिस्टम सुदृढ बनाउन तथा युवामा उद्यमशीलताको संस्कृति विकास गर्न महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। आगामी दिनमा संयुक्त कार्यक्रममार्फत थप युवालाई उद्यमतर्फ आकर्षित गर्दै आर्थिक समृद्धिमा योगदान पुर्याउने दुवै संस्थाले प्रतिबद्धता व्यक्त गरेका छन्।