पर्सा पोस्ट , साउन १० गते , रक्सौल, पूर्वी चम्पारण।
भारत विकास परिषद्, रक्सौल शाखाको आयोजनामा संस्कृति सप्ताह–२०२६ अन्तर्गत आइतबार श्री सत्यनारायण मारवाडी पञ्चायती मन्दिर परिसरमा भव्य मेहेन्दी प्रतियोगिता सम्पन्न भएको छ। न्यू परिधान, गायत्री टायल्स, छवि सैलुन तथा सुहाना मेहेन्दीको सहयोगमा आयोजित प्रतियोगितामा रक्सौल, मोतिहारी तथा आसपासका क्षेत्रका साथै नेपालका वीरगञ्जबाट आएका छात्रा तथा महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

भारतीय कला, संस्कृति तथा परम्परागत मेहेन्दी कलाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा सहभागीहरूले आफ्नो सिर्जनात्मक क्षमता र कलात्मक प्रतिभाको उत्कृष्ट प्रदर्शन गरेका थिए। प्रतियोगिताले सीमावर्ती नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाएको आयोजकले जनाएको छ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि अवर निबन्धक आशीष अग्रवाल, विशिष्ट अतिथि सुप्रिया ड्रोलिया, भारत विकास परिषद् रक्सौल शाखाका अध्यक्ष रजनीश प्रियदर्शी, सचिव नरेश कुमार, महिला सहभागिता संयोजिका श्रीमती मेनका गुप्ता, कार्यक्रम संयोजक अजय कुमार, कैलाशचन्द्र काबरा, सुश्री मोनिका आर्य तथा मीतु गुप्ताले संयुक्त रूपमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। त्यसपछि भारत माता तथा स्वामी विवेकानन्दको तस्बिरमा पुष्पाञ्जली अर्पण गर्दै सामूहिक रूपमा ‘वन्दे मातरम्’ गान प्रस्तुत गरिएको थियो। कार्यक्रममा उपस्थित अतिथिहरूलाई दोसल्ला ओढाएर तथा स्मृति–चिन्ह प्रदान गरी सम्मान गरिएको थियो।

प्रतियोगितामा ७० जना छात्रा तथा महिलाले सहभागिता जनाएका थिए। परिषद्का सचिव नरेश कुमारले स्वागत मन्तव्य व्यक्त गर्दै संस्कृति सप्ताह–२०२६ को उद्देश्यबारे प्रकाश पार्नुभयो। उहाँले यस्ता कार्यक्रमहरूले भारतीय संस्कृति, संस्कार तथा परम्परागत कलाको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

महिला सहभागिता संयोजिका श्रीमती मेनका गुप्ता तथा कार्यक्रम संयोजक अजय कुमारले परिषद्को पञ्चसूत्र—सम्पर्क, सहयोग, संस्कार, सेवा र समर्पण—मार्फत समाजलाई एकताबद्ध गर्दै सांस्कृतिक चेतना अभिवृद्धि गर्ने कार्य निरन्तर भइरहेको बताउनुभयो। उहाँहरूले प्रतियोगिताले छात्रा तथा महिलाहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै सांस्कृतिक सम्पदाप्रति आकर्षण बढाउने विश्वास व्यक्त गर्नुभयो।
परिषद्का सेवा संयोजक एवं मिडिया प्रभारी बिमल कुमार सर्राफले यस्ता प्रतियोगिताले लुकेका प्रतिभाहरूलाई उजागर गर्दै बालबालिका तथा महिलाहरूमा सिर्जनशीलता, आत्मविश्वास र सांस्कृतिक चेतनाको विकासमा सकारात्मक योगदान पुर्याउने बताउनुभयो।
प्रतियोगिताका क्रममा सहभागीहरूले विभिन्न आकर्षक, मौलिक तथा कलात्मक मेहेन्दी डिजाइन प्रस्तुत गरेका थिए। निर्णायक मण्डलमा श्रीमती मेनका गुप्ता, सुश्री मोनिका आर्य तथा श्रीमती बबली गुप्ता रहनुभएको थियो।
निर्णायकहरूको मूल्याङ्कनका आधारमा मुस्कान गुप्ता प्रथम, खुशी कुमारी द्वितीय तथा आराध्या गुप्ता तृतीय घोषित भएका थिए। विजेताहरूलाई पदक, प्रशस्तिपत्र, स्मृति–चिन्ह तथा बालसन हर्बलका उपहार प्रदान गरी सम्मान गरिएको थियो। साथै प्रतियोगितामा सहभागी सबैलाई प्रशस्तिपत्र र पदक वितरण गर्दै उनीहरूको उत्साहवर्द्धन गरिएको थियो।
कार्यक्रमको समापनमा छवि सैलुनकी सञ्चालिका सुश्री मोनिका आर्य तथा कैलाशचन्द्र काबरालाई प्रतियोगिताको सफल आयोजनामा पुर्याएको विशेष योगदानको कदरस्वरूप स्मृति–चिन्ह प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रमको सञ्चालन सुनील कुमारले गर्नुभएको थियो। प्रमुख अतिथि आशीष अग्रवाल तथा विशिष्ट अतिथि सुप्रिया ड्रोलियाले भारत विकास परिषद्ले सञ्चालन गर्दै आएका यस्ता सांस्कृतिक कार्यक्रमहरूको प्रशंसा गर्दै कला, संस्कृति र परम्पराको संरक्षण तथा नयाँ पुस्तामा यसको हस्तान्तरणका लागि यस्ता अभियान प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमलाई सफल बनाउन नरेश कुमार, बिमल कुमार सर्राफ, अजय कुमार, नीतेश कुमार सिंह, अरविन्द जायसवाल, उमेश सिकारिया, सीताराम गोयल, सुरेश धानोठिया, विनोद रौनियार, विनोद कुमार, दिनेश प्रसाद, सन्तोष कुमार, अशोक कुमार (मुन्ना), प्रतीक कुमार, सुनील कुमार, बबली गुप्ता, सीमा गुप्ता, किरण गुप्ता, ममता गुप्ता, सोनी गुप्तालगायत परिषद्का सदस्यहरूको उल्लेखनीय योगदान रहेको थियो।
यस सम्बन्धी जानकारी परिषद्का सम्पर्क संयोजक उमेश सिकारिया तथा सेवा संयोजक एवं मिडिया प्रभारी बिमल कुमार सर्राफले संयुक्त रूपमा उपलब्ध गराउनुभएको हो।