पर्सा पोस्ट | साउन १० गते | वीरगञ्ज।
सामाजिक उत्तरदायित्वअन्तर्गत रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसले पर्साको श्री दलित आधारभूत विद्यालय, महुवनलाई ७ थान विद्युत् पंखा सहयोग गरेको छ।
विद्यालयमा अत्यधिक गर्मी तथा आधारभूत पूर्वाधारको अभावका कारण विद्यार्थीहरूको पठनपाठनमा सहजता ल्याउने उद्देश्यले उक्त सहयोग गरिएको क्लबले जनाएको छ।
रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका अध्यक्ष रामबिनय यादवको अध्यक्षतामा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, स्थानीयवासी तथा क्लबका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा क्लबका अध्यक्ष रामबिनय यादव, आलोक यादव, आर्यन गुप्ता तथा मनीष सर्राफको सक्रिय सहभागिता रहेको थियो। उनीहरूले विद्यालयका विद्यार्थीहरूलाई सहज, सुरक्षित तथा अनुकूल शैक्षिक वातावरण उपलब्ध गराउने उद्देश्यले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवासँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्दै समुदायसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
यस सहयोग कार्यक्रम सफल बनाउन आवश्यक ७ थान पंखाको व्यवस्थापनमा विशेष सहयोग पुर्याउनुहुने प्रकाश कर्ण तथा सहयोग गर्ने सम्पूर्ण दाताप्रति रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसले हार्दिक आभार व्यक्त गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रामबिनय यादवले शिक्षा क्षेत्रमा गरिने साना–साना सहयोगले पनि विद्यार्थीहरूको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्दै समाजका विभिन्न क्षेत्रमा आवश्यकतामा आधारित सेवामूलक अभियानलाई निरन्तर अगाडि बढाइने बताउनुभयो।
विद्यालय परिवारले रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिस र सहयोगी दाताप्रति कृतज्ञता व्यक्त गर्दै प्राप्त पंखाले गर्मी मौसममा विद्यार्थीहरूको अध्ययन–अध्यापनलाई थप सहज बनाउने विश्वास व्यक्त गरेको छ।
स्थानीय अभिभावकहरूले पनि विद्यालयमा गरिएको यस्तो सहयोगले विद्यार्थीहरूको सिकाइ वातावरण सुधार गर्न मद्दत पुग्ने भन्दै यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन्। क्लबले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा यस्ता सेवामूलक कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने जनाएको छ।