पर्सा पोस्ट , साउन १० गते, वीरगञ्ज ।
गुरुपूर्णिमाको पावन अवसरमा विद्या सदन सेकेन्डरी स्कुल, मुर्ली, वीरगञ्ज–१२, पर्साले आयोजना गरेको “अन्तरविद्यालय कला महोत्सव–२०८३” भव्य, सभ्य तथा सिर्जनात्मक वातावरणमा सम्पन्न भएको छ। वीरगञ्जका १० प्रतिष्ठित विद्यालयहरूको सहभागिता रहेको उक्त महोत्सवले बालबालिकामा निहित सिर्जनशील प्रतिभाको पहिचान, प्रोत्साहन तथा विद्यालयहरूबीच शैक्षिक एवं सांस्कृतिक सहकार्यलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

महोत्सवमा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा सहभागी विद्यालयका प्रधानाध्यापकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बालबालिकालाई कला र सिर्जनशीलताप्रति प्रेरित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा पाँच विभिन्न उमेर समूहका विद्यार्थीहरूले चित्रकला प्रतियोगितामार्फत आफ्नो अद्भुत प्रतिभा प्रस्तुत गरेका थिए।

कार्यक्रमका लागि प्रमुख अतिथिका रूपमा नेपाल कमर्सियल आर्टिस्ट संघ, पर्साका अध्यक्ष मनीष श्रेष्ठ लाई निमन्त्रणा गरिएको भए पनि आफ्नी आमाको आकस्मिक स्वास्थ्य उपचारका कारण उहाँ कार्यक्रममा उपस्थित हुन सक्नुभएन। कार्यक्रममा उपस्थित सबैले उहाँकी आमाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए।

प्रमुख अतिथिको अनुपस्थितिमा हिन्दू संस्कृतिको पवित्र परम्पराअनुसार पञ्चकन्याको प्रतीकस्वरूप पाँच जना साना बालिकाबाट दीप प्रज्वलन गराई महोत्सवको औपचारिक उद्घाटन गरिएको थियो। उद्घाटनको उक्त दृश्यले कार्यक्रममा धार्मिक, सांस्कृतिक तथा भावनात्मक गरिमा थपेको थियो।
प्रतियोगिताका निर्णायक तथा आइडियल एकेडेमीका प्रधानाध्यापक विकास राई ले बालबालिकाले प्रस्तुत गरेका कलाकृतिको उच्च प्रशंसा गर्दै उनीहरूमा लुकेको सिर्जनशील क्षमता राष्ट्रको भविष्यका लागि प्रेरणादायी रहेको बताउनुभयो। उहाँले विद्यालयस्तरमै कला शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै यस्ता कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास र कल्पनाशक्ति विकासमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो। विद्यालयले उहाँलाई सम्मानस्वरूप ‘टोकन अफ लभ’ प्रदान गरेको थियो।

# प्रतियोगिताको नतिजा :
समूह ‘क’ (नर्सरी)
प्रथम– बिनिता चौरसिया (GHP Secondary School)
द्वितीय– आकृति कुमारी (New Wave Secondary School)
तृतीय– अनुराधा कुशवाहा (Mini Land English Secondary School)
समूह ‘ख’ (एल.के.जी.)
प्रथम– अन्जुला राम (GHP Secondary School)
द्वितीय– सोनिया मण्डल (विद्या सदन सेकेन्डरी स्कुल)
तृतीय– साइमा खातुन (विद्या सदन सेकेन्डरी स्कुल)
समूह ‘ग’ (यू.के.जी.)
प्रथम– सुन्दरम कलवार (GHP Secondary School)
द्वितीय– आहान अली (विद्या सदन सेकेन्डरी स्कुल)
तृतीय– अनाया अली (विद्या सदन सेकेन्डरी स्कुल)
समूह ‘घ’ (कक्षा १–२)
प्रथम– अमन कुमार साह (GHP Secondary School)
द्वितीय– शिवानी महतो (विद्या सदन सेकेन्डरी स्कुल)
तृतीय– साक्षी गुप्ता (GHP Secondary School)
समूह ‘ङ’ (कक्षा ३–५)
प्रथम– आरुषी कुमारी प्रजापति (मनकामना सेकेन्डरी स्कुल)
द्वितीय– आरती सिंह (GHP Secondary School)
तृतीय– नैना कुमारी (New Wave Secondary School)
विजेता विद्यार्थीहरूलाई सहभागी विद्यालयका प्रधानाध्यापकहरूको हातबाट शील्ड, पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो। साथै प्रतियोगितामा सहभागी प्रत्येक विद्यार्थीलाई सान्त्वना पुरस्कार प्रदान गरिएकाले कुनै पनि विद्यार्थी खाली हात फर्किनु परेन। आयोजकको यस कदमले सबै सहभागीप्रति समान सम्मान र प्रोत्साहनको भावना झल्काएको सहभागीहरूले बताएका छन्।

कार्यक्रमको स्वागत मन्तव्य विद्यालयका कक्षा १० का विद्यार्थी आयान अन्सारी ले प्रस्तुत गरेका थिए भने सम्पूर्ण कार्यक्रमको आकर्षक सञ्चालन कक्षा ८ की छात्रा अफ्रिन खातुन ले गरेकी थिइन्।
कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक लालबहादुर गुरुङले गर्नुभएको थियो। समापन समारोहलाई सम्बोधन गर्दै उहाँले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, निर्णायक, सहभागी विद्यालयका प्रधानाध्यापक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले आगामी वर्षहरूमा अझ व्यापक सहभागितासहित महोत्सवलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।
गुरुपूर्णिमाको शुभ अवसरमा सम्पन्न अन्तरविद्यालय कला महोत्सव–२०८३ ले बालबालिकाको सिर्जनशील प्रतिभालाई उजागर गर्नुका साथै विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा, सहकार्य र आपसी सम्बन्धलाई थप मजबुत बनाएको सहभागीहरूको भनाइ छ। यस्ता कार्यक्रमले बालबालिकामा कला शिक्षाप्रतिको रुचि विकास गर्दै उनीहरूको व्यक्तित्व निर्माणमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।