पर्सा पोस्ट, साउन १० गते, वीरगञ्ज ।
गौतम माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३ का लागि गठन गरिएको विद्यार्थी परिषद् (स्टुडेन्ट काउन्सिल) लाई औपचारिक रूपमा पद तथा जिम्मेवारी हस्तान्तरण गर्दै इन्भेस्टिचर समारोह–२०८३ भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयमा आयोजित समारोहमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई नेतृत्वदायी जिम्मेवारी प्रदान गर्दै ब्याज (Badge) लगाई सम्मान गरिएको थियो।

विद्यालयका प्रधानाध्यापक गणेश क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली सेनाको वीरगञ्जस्थित श्री जंग गणका गणपति (कर्णेल) लोकेन्द्र कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा विद्यालयका प्रशासन प्रमुख रमेश शर्मा, सहायक प्रधानाध्यापक ललित कर्ण, सौराज प्रधान, एल्भिन सर, जुनियर को–अर्डिनेटर सिपेन्द्र गुप्ता, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोहमा नवनिर्वाचित विद्यार्थी नेतृत्वलाई औपचारिक रूपमा पदभार ग्रहण गराउँदै प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले सम्बन्धित पदअनुसार ब्याज लगाइदिएका थिए। यस क्रममा स्वरा झा हेड गर्ल, अभिनव ठाकुर हेड ब्वाय, प्रियम कुमारी सिन्हा र सिद्धार्थ कुमार मिश्रा शैक्षिक प्रमुख (हेड प्रिफेक्ट), अदिति पिठाकोटे मगर र बासु चौरसिया अतिरिक्त क्रियाकलाप (ECA) प्रमुख, आर्या चौरसिया र अंकित कुमार अनुशासन प्रमुख, रिजन चापागाईं र स्वस्तिका रौनियार सामाजिक पहुँच प्रमुख, दिप्शिखा गुप्ता र अनिश चौधरी खेलकुद प्रमुख, जबेरिया खातुन र आलोक शाह भाषा प्रमुख, रुशाली माली श्रेष्ठ र अर्नव केजरीवाल डिजिटल वेलनेस प्रमुख तथा मेहविश प्रवीन र ऋषभ गुप्ता सह–पाठ्यक्रम (CCA) प्रमुखको जिम्मेवारी प्रदान गरिएको थियो।

विद्यालयका अनुसार यस अवसरमा अन्य विभिन्न विद्यार्थीहरूलाई पनि उनीहरूको जिम्मेवारीअनुसार विभिन्न ब्याज वितरण गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कर्णेल लोकेन्द्र कार्कीले विद्यालय जीवन नै नेतृत्व, अनुशासन, जिम्मेवारी र सेवाभावको जग बसाल्ने महत्वपूर्ण चरण भएको उल्लेख गर्नुभयो। उहाँले विद्यार्थी परिषद्मा चयन भएका पदाधिकारीहरूलाई इमानदारी, समर्पण र उत्तरदायित्वका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्दै विद्यालय र समाजका लागि उदाहरणीय भूमिका खेल्न आग्रह गर्नुभयो।
अध्यक्षीय मन्तव्य व्यक्त गर्दै प्रधानाध्यापक गणेश क्षेत्रीले विद्यार्थी परिषद् विद्यालयमा नेतृत्व विकास गर्ने प्रभावकारी अभ्यास भएको बताउनुभयो। उहाँले विद्यार्थीहरूमा निर्णय क्षमता, आत्मविश्वास, सहकार्य र उत्तरदायित्वको भावना विकास गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै नवनिर्वाचित पदाधिकारीहरूले विद्यालयको अनुशासन, शैक्षिक वातावरण तथा अतिरिक्त क्रियाकलापलाई अझ सशक्त बनाउने अपेक्षा व्यक्त गर्नुभयो।
समारोहमा विद्यार्थीहरूले विद्यालयप्रति निष्ठावान रही आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने शपथसमेत लिएका थिए। कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयले शैक्षिक उपलब्धिसँगै नेतृत्व विकासलाई समेत प्राथमिकता दिएकोमा प्रशंसा व्यक्त गरेका थिए।
उत्साह, अनुशासन र प्रेरणाले भरिएको इन्भेस्टिचर समारोहले विद्यार्थीहरूमा नेतृत्व क्षमता, उत्तरदायित्व, सेवाभाव तथा सहकार्यको संस्कार विकास गर्न थप ऊर्जा प्रदान गरेको विद्यालय परिवारले जनाएको छ।