पर्सा पोस्ट, साउन ०९ गते, वीरगञ्ज ।
रोटरी क्लब अफ वीरगञ्जको ३९औँ पदस्थापन (इन्स्टलेसन) समारोह शनिबार वीरगञ्जस्थित होटल भिस्वामा भव्य तथा गरिमामय वातावरणमा सम्पन्न भएको छ। समारोहमार्फत रोटेरियन राकेश मिश्रले अध्यक्ष (२०२६–२७) का रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै औपचारिक रूपमा नेतृत्व सम्हालेका छन्।

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर (२०२६–२७) रोटेरियन विष्णुबहादुर कार्कीको प्रमुख आतिथ्य तथा विभिन्न रोटरी क्लबका पदाधिकारी, सदस्य एवं विशिष्ट अतिथिहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा निवर्तमान नेतृत्वबाट नयाँ कार्यसमितिलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको थियो।
नवनिर्वाचित अध्यक्ष रोटेरियन राकेश मिश्रको नेतृत्वमा गठन गरिएको कार्यसमितिमा रोटेरियन श्वेता गुप्ता सचिव, रोटेरियन गोपाल खेतान तत्कालीन अध्यक्ष, रोटेरियन दीनदयाल केडिया अध्यक्ष–निर्वाचित, रोटेरियन अमित कुमार गुप्ता उपाध्यक्ष, रोटेरियन पियुष गुप्ता सहसचिव, रोटेरियन डा. अमर केयाल कोषाध्यक्ष, रोटेरियन डा. प्रेरणा प्रियदर्शिनी सह–कोषाध्यक्ष, रोटेरियन सोहन पोद्दार क्लब प्रशासन निर्देशक, रोटेरियन अभिषेक चौधरी सदस्यता निर्देशक, रोटेरियन रणजेश श्रेष्ठ क्लब प्रशासन समिति संयोजक तथा रोटेरियन पूजा खत्री सदस्यता समिति संयोजकमा चयन भएका छन्। साथै क्लबका विभिन्न समिति तथा उपसमितिमा समेत सदस्यहरूको मनोनयन गरिएको जनाइएको छ।

समारोहमा नेपाल तथा भारतका विभिन्न शहरबाट आएका रोटरी क्लबका पदाधिकारी, सदस्य तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उद्योगी, व्यवसायी, चिकित्सक, शिक्षाविद्, समाजसेवी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति पनि कार्यक्रमको आकर्षण बनेको थियो।
प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्कीले रोटरीको मूल उद्देश्य मानव सेवामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउनु रहेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, खानेपानी, मातृ तथा शिशु स्वास्थ्य, रोग नियन्त्रण र युवा नेतृत्व विकासका क्षेत्रमा रोटरीले निरन्तर प्रभावकारी भूमिका खेल्दै आएको बताए। उनले नयाँ नेतृत्वलाई सेवामूलक अभियानलाई थप प्रभावकारी र परिणाममुखी बनाउन आग्रह गरे।
नवनिर्वाचित अध्यक्ष रोटेरियन राकेश मिश्रले आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण, सीप विकास तथा सामुदायिक सेवासँग सम्बन्धित कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले रोटरीको आदर्श वाक्य “सेवा नै सर्वोपरि” लाई व्यवहारमा उतार्दै स्थानीय समुदायको आवश्यकता अनुसार प्रभावकारी सामाजिक परियोजना सञ्चालन गर्ने बताए।
समारोहका क्रममा निवर्तमान कार्यसमितिको योगदानको उच्च मूल्याङ्कन गर्दै उनीहरूलाई सम्मान गरिएको थियो। साथै क्लबका विभिन्न गतिविधिमा उत्कृष्ट योगदान पुर्याउने सदस्यहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो। कार्यक्रममा शुभकामना मन्तव्य, सांस्कृतिक प्रस्तुति, नयाँ सदस्य परिचय तथा आपसी भेटघाटसहित पदस्थापन समारोह सम्पन्न भएको थियो।
रोटरी क्लब अफ वीरगञ्ज विगत करिब चार दशकदेखि वीरगञ्ज तथा आसपासका क्षेत्रमा शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, रक्तदान, वातावरण संरक्षण, सरसफाइ, छात्रवृत्ति वितरण, खानेपानी तथा सामाजिक सेवाका विभिन्न अभियान सञ्चालन गर्दै आएको अग्रणी सामाजिक संस्थाका रूपमा परिचित छ। नयाँ नेतृत्वसँगै आगामी वर्षमा क्लबले समुदायमुखी तथा दीर्घकालीन प्रभाव पार्ने परियोजनाहरूलाई अझ सशक्त रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।