पर्सा पोस्ट, साउन ०९ गते, वीरगञ्ज ।
प्रतिनिधिसभा सदस्य सुशील साह कानुले पर्साको पर्सागढी नगरपालिका–५, जिगनामा स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्दै विकास निर्माण, कृषि, शिक्षा, स्वास्थ्य र जनजीविकासँग सम्बन्धित विविध विषयमा छलफल गरेका छन्।
स्थानीय आवश्यकता र समस्यालाई प्रत्यक्ष रूपमा बुझ्ने उद्देश्यले आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशका यातायात विभाग प्रमुख राम आर्य, रास्वपा क्षेत्र नं. २ का सचिव किशन प्रसाद, रास्वपा वीरगञ्ज नगर सभापति दीपराज पटेल तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
छलफलका क्रममा किसानहरूले समयमै रासायनिक मलखादको सहज उपलब्धता सुनिश्चित गर्न, कृषि उत्पादनलाई प्रोत्साहन गर्ने नीति लागू गर्न तथा सिँचाइ व्यवस्थामा सुधार गर्न आग्रह गरेका थिए। त्यसैगरी गाउँका सडक तथा नाला निर्माण, स्वास्थ्य सेवाको पहुँच विस्तार, विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, खानेपानी तथा अन्य आधारभूत पूर्वाधार विकासका विषयमा समेत स्थानीयले आफ्ना समस्या र सुझाव प्रस्तुत गरेका थिए।
स्थानीयको गुनासो र सुझाव सुनेपछि सांसद साहले जनताका आवश्यकतालाई प्राथमिकतामा राखेर विकास योजनाहरू अघि बढाइने बताए। उनले स्थानीय तह, प्रदेश तथा संघीय सरकारका सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी उठाइएका समस्याको समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले विकास निर्माणका योजना कागजमा मात्र सीमित नराखी जनताको प्रत्यक्ष सहभागितासहित प्रभावकारी रूपमा कार्यान्वयन गरिनुपर्नेमा जोड दिँदै स्थानीय आवश्यकता अनुसार बजेट तथा योजना व्यवस्थापनका लागि आफू निरन्तर सक्रिय रहने बताए।
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले जनप्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै कृषि, शिक्षा, स्वास्थ्य, सडक तथा अन्य पूर्वाधार विकासका क्षेत्रमा शीघ्र काम सुरु हुने अपेक्षा व्यक्त गरेका थिए।
स्थानीय समस्याको पहिचान, समाधानका लागि साझा पहल तथा जनप्रतिनिधि र नागरिकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यका साथ सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रमलाई सहभागीहरूले सकारात्मक र उपलब्धिमूलक भएको बताएका छन्।