पर्सा पोस्ट, साउन ०६ गते, वीरगञ्ज ।
ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवाको संयुक्त आयोजनामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ‘एक घर, एक बिरुवा’ भन्ने मूल नारासहित वीरगञ्जस्थित हरि खेतान बहुमुखी कलेजमा ४ सयभन्दा बढी विभिन्न प्रजातिका बिरुवा वितरण तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

कलेजमा अध्ययनरत विद्यार्थीहरूको उत्साहजनक सहभागितामा आयोजित कार्यक्रममा वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका चुनौती न्यूनीकरण गर्ने उद्देश्यले बिरुवा वितरणसँगै कलेज परिसरमा वृक्षारोपण गरिएको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई प्रत्येक घरमा कम्तीमा एउटा बिरुवा रोप्न, त्यसको नियमित हेरचाह गर्न तथा हरियाली संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको थियो।

ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देविसहाय मीणा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष हरि गौतम, हरि खेतान बहुमुखी कलेजका अध्यक्ष रामवतार खेतान, समाजसेवी सुरेश रुङ्टा, जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्र मल्ल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विक्रम सुवेदी, युवा समाजसेवी दिलीप कार्की तथा विभिन्न सामाजिक, शैक्षिक र सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष जयप्रकाश खेतानले वातावरण संरक्षण आजको सबैभन्दा महत्वपूर्ण आवश्यकता भएको उल्लेख गर्दै वृक्षारोपणलाई जनआन्दोलनका रूपमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो। उहाँले बिरुवा रोप्नु मात्र नभई त्यसको संरक्षण र हुर्काउने जिम्मेवारी पनि सबै नागरिकले बहन गर्नुपर्ने बताउनुभयो।

प्रमुख अतिथि महावाणिज्यदूत देविसहाय मीणाले यस्ता वातावरणमैत्री अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउँदै जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न युवाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले प्रकृतिप्रतिको जिम्मेवारीलाई व्यवहारमा उतार्दै हरित वातावरण निर्माणमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि स्वच्छ, हरित र वातावरणमैत्री वीरगञ्ज निर्माणका लागि सामुदायिक प्रहरी, शैक्षिक संस्था, सामाजिक संघसंस्था तथा नागरिकबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए। उनीहरूले वृक्षारोपणलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी दीर्घकालीन संरक्षण अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूलाई ४ सयभन्दा बढी विभिन्न प्रजातिका बिरुवा वितरण गर्नुका साथै कलेज परिसरमा सामूहिक वृक्षारोपण गरिएको आयोजकले जनाएको छ। आयोजकका अनुसार आगामी दिनमा पनि सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वातावरण संरक्षण, सरसफाइ, जनचेतनामूलक अभियान तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइनेछ।