बिरगंजमा प्राकृतिक गुडयुक्त ‘ गुडली चिया ‘ क्याफे सन्चालनमा , उद्घाटनकै दिन ७५ लिटर चिया नि:शुल्क वितरण

Date:

पर्सा पोस्ट , साउन ०४ गते, वीरगञ्ज।
वीरगञ्जमा प्राकृतिक गुड (जागरी) प्रयोग गरी तयार गरिने चियाको अवधारणासहित ‘गुडली चिया’ क्याफे सञ्चालनमा आएको छ। वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित एनआईसी एशिया बैंकको अगाडि रहेको क्याफेको सोमबार एक सभ्य एवं भव्य समारोहबीच सञ्चालक चार्टर्ड एकाउन्टेन्ट (सिए) उमेश यादवका आमाबुवाले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

उद्घाटनको अवसरमा दिउँसो ३ बजेदेखि राति ८ बजेसम्म आगन्तुकहरूका लागि करिब ७५ लिटर प्राकृतिक गुडयुक्त चिया निःशुल्क वितरण गरिएको थियो। निःशुल्क चियाको स्वाद लिन स्थानीय सर्वसाधारण, व्यवसायी, युवा तथा चियाप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष जसपाल सिंह, मधेश विश्वविद्यालयका प्राध्यापक प्रा. डा. हरेराम ठाकुर, वीरगञ्ज कपडा बैंकका अध्यक्ष तथा सञ्चारकर्मी लालबाबु सिंह, समाजसेवी अभिनाश झा, केदार गुप्ता, सन्तोष ठाकुर, सञ्चारकर्मी आकाश पटेललगायत विभिन्न व्यावसायिक प्रतिष्ठान, संघ–संस्था, सरकारी तथा निजी कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

उपस्थित अतिथिहरूले प्राकृतिक गुड मिसाइएको चियाको स्वाद फरक र स्वास्थ्यमैत्री रहेको प्रतिक्रिया दिँदै ‘गुडली चिया’को सफलताको शुभकामना व्यक्त गरेका थिए। उनीहरूले परिष्कृत चिनीको विकल्पका रूपमा प्राकृतिक गुडको प्रयोगले स्वास्थ्यप्रति सचेत उपभोक्तालाई आकर्षित गर्ने विश्वाससमेत व्यक्त गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चालक सिए उमेश यादवले स्वास्थ्य नै मानिसको सबैभन्दा ठूलो सम्पत्ति भएकाले प्राकृतिक गुड प्रयोग गरिएको चियाको अवधारणा अघि सारेको बताए। उनले विशेषगरी मधेशका किसानले उत्पादन गर्ने उखु र त्यसबाट बन्ने प्राकृतिक गुडको संरक्षण, प्रवर्द्धन तथा बजार विस्तारमा योगदान पुर्‍याउने उद्देश्यले यो व्यवसाय सुरु गरिएको जानकारी दिए।

उनका अनुसार करिब डेढ वर्षअघि साथीहरूसँग मिलेर प्राकृतिक गुडको चिया व्यवसाय सुरु गरिएको भए पनि साझेदारीमा समस्या आएपछि अब आफ्नै नेतृत्वमा वीरगञ्जबाट ‘गुडली चिया’ ब्रान्ड सञ्चालनमा ल्याइएको हो।
‘गुडली’ नामको बारेमा प्रष्ट पार्दै यादवले अंग्रेजी शब्द “Good” अर्थात् ‘राम्रो’ भन्ने भावलाई आधार बनाएर गुणस्तरीय, स्वास्थ्यमैत्री र स्वादिष्ट चिया उपभोक्तासम्म पुर्‍याउने लक्ष्यसहित ब्रान्ड विकास गरिएको बताए।

सिए जस्तो प्रतिष्ठित पेशा छाडेर चिया व्यवसायमा लाग्नुको कारणबारे उनले भने, “रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने सोच आवश्यक छ। एउटा शाखाबाट पाँचदेखि सात जनासम्मले प्रत्यक्ष रोजगारी पाउन सक्छन्। युवाहरूले विदेशभन्दा आफ्नै देशमा उद्यम गरेर आफू पनि आत्मनिर्भर बन्न र अरूलाई पनि रोजगारी दिन सक्छन्।”

उनले ‘गुडली चिया’ बिहान ६ बजेदेखि राति ८–९ बजेसम्म सञ्चालन हुने जानकारी दिँदै वीरगञ्जभित्र घर, कार्यालय, व्यावसायिक प्रतिष्ठान, बैठक, गोष्ठी तथा विभिन्न समारोहका लागि निःशुल्क होम डेलिभरी सेवा समेत उपलब्ध गराइने बताए।

प्राकृतिक स्वाद, स्वास्थ्यप्रतिको सचेतना र स्थानीय कृषिजन्य उत्पादनको प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै सञ्चालनमा आएको ‘गुडली चिया’ले वीरगञ्जका चियाप्रेमीमाझ नयाँ स्वाद र फरक पहिचान स्थापित गर्ने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट । उपभोक्ताको...

बिरगंज कपडा बैंकद्वारा नयाँ तथा पुराना ५ सय ५० थान कपडा बितरण

पर्सा पोस्ट , असोज १८ गते , वीरगन्ज । वीरगन्ज...

सामाजिक शिक्षा विषयको एकदिने शिक्षक तालिम भव्यताका साथ सम्पन्न

पर्सा पोस्ट ,  असोज १८ गते , वीरगञ्ज । नेसनल...