पर्सा पोस्ट , साउन ०३ गते , रक्सौल, पूर्वी चम्पारण।
“यो संसार एउटा विशाल मण्डी जस्तै हो, जहाँ विभिन्न स्थानबाट आएका मानिसहरू आफ्ना इच्छा, आवश्यकता र कर्महरूको व्यापार गर्छन्।” लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट (३२२ ई) का जोनल चेयरपर्सन, डिस्ट्रिक्ट चेयरपर्सन, समाजसेवी तथा भारत विकास परिषद् रक्सौलका सेवा संयोजक एवं मिडिया प्रभारी बिमल सर्राफले प्रेससँगको कुराकानीका क्रममा उक्त विचार व्यक्त गर्नुभएको हो।
उहाँका अनुसार मानिसको जीवनका उद्देश्य र प्राथमिकताहरू फरक–फरक हुन्छन्। कोही परिवारको सुख–समृद्धिका लागि निरन्तर परिश्रम गरिरहेका हुन्छन् भने कोही धन, प्रतिष्ठा, मान–सम्मान वा साँचो मित्रताको खोजीमा जीवन बिताइरहेका हुन्छन्। यही विविध आकांक्षाले संसारलाई चलायमान बनाएको उहाँको भनाइ थियो।
सर्राफले भौतिक सम्पत्ति क्षणिक हुने उल्लेख गर्दै अन्ततः मानिसले सबै कुरा यही संसारमै छाडेर जानुपर्ने सत्यलाई स्वीकार गर्नुपर्ने बताउनुभयो। उहाँले प्रभुभक्ति, सदाचार र सत्कर्मलाई नै जीवनको वास्तविक सम्पत्ति भएको उल्लेख गर्दै यस्ता गुणले मानसिक शान्ति, आत्मसन्तुष्टि र स्थायी सुख प्रदान गर्ने धारणा राख्नुभयो।
उहाँले प्रेम, करुणा र सकारात्मक सोचले मानिसको व्यक्तित्वलाई उचाइमा पुर्याउने उल्लेख गर्दै कठिन परिस्थितिमा पनि धैर्य, मेहनत र आत्मविश्वास नछोड्न आग्रह गर्नुभयो। “भाग्यको भरोसामा मात्र बस्नेहरूले अवसर गुमाउँछन्, तर कर्मशील र उद्यमी व्यक्तिले आफ्नो पुरुषार्थबाट सफलता हासिल गर्छ,” उहाँले भन्नुभयो।
व्यक्तित्व विकासका सन्दर्भमा उहाँले विनम्रता, सरलता र सहयोगी भावनालाई जीवनको सबैभन्दा ठूलो शक्ति भएको बताउनुभयो। अरूलाई सम्मान गर्ने र आत्मविश्वास बढाउने व्यवहारले समाजमा सकारात्मक परिवर्तन ल्याउने उहाँको विश्वास थियो।
कबड्डी खेलको उदाहरण दिँदै सर्राफले सफल व्यक्तिप्रति अवरोध र आलोचना बढ्ने स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्नुभयो। उहाँले सफलताको यात्रामा आउने चुनौतीहरूलाई धैर्य र आत्मबलका साथ सामना गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले जीवनमा नयाँ सिर्जनाको आधार जिज्ञासा भएको र त्यसलाई सार्थक बनाउन संवेदनशीलता, अनुशासन तथा निरन्तर सिक्ने इच्छाशक्ति आवश्यक पर्ने बताउनुभयो। समाजमा मानवता, सेवा, सहकार्य र नैतिक मूल्यहरूको संरक्षण गर्न सबैले आ–आफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने उहाँको आग्रह थियो।
कार्यक्रमको अन्त्यमा सर्राफले युवापुस्तालाई सकारात्मक सोच, सामाजिक उत्तरदायित्व, सेवा भावना र सत्कर्मलाई जीवनको मूल मन्त्र बनाएर अघि बढ्न आह्वान गर्दै यिनै मूल्यले समुन्नत, सभ्य र समृद्ध समाज निर्माण सम्भव हुने विश्वास व्यक्त गर्नुभयो।