पर्सा पोस्ट, साउन ०२ गते, वीरगञ्ज।
महिला सशक्तीकरण, उद्यमशीलताको प्रवर्द्धन तथा घरेलु उत्पादनको बजारीकरण गर्ने उद्देश्यले विमेन्स क्रिएशन्स क्लबद्वारा आयोजित २२औँ समर फेयर प्रदर्शनी शनिबार वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोमा भव्य रूपमा सम्पन्न भएको छ।
क्लबकी अध्यक्ष रुपा अग्रवालको अध्यक्षतामा आयोजित कार्यक्रममा वीरगञ्जस्थित भारतीय महावाणिज्यदूतावासका महावाणिज्यदूत देबिसहाय मीना प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा नेपाल–भारतबीचको व्यापारिक सहकार्य, महिला उद्यमशीलताको विकास तथा स्थानीय उत्पादनको प्रवर्द्धनबारे विशेष जोड दिइएको थियो।
प्रदर्शनी उद्घाटनपछि प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले विभिन्न स्टलहरूको अवलोकन गरेका थिए।
उनीहरूले स्थानीय तथा महिला उद्यमीले उत्पादन गरेका सामग्रीको प्रशंसा गर्दै यस्ता मेलाले साना व्यवसायलाई बजारसँग जोड्ने प्रभावकारी माध्यम बनेको बताए।
कार्यक्रममा समाजसेवी जसपाल सिंह, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका उपाध्यक्ष तथा उद्योगपति सञ्जय अग्रवाल, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, वरिष्ठ उपाध्यक्ष माधव राजपाल, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, आन्तरिक राजस्व कार्यालय वीरगञ्जका प्रमुख टीकाराज चौलागाईं, नेपाल–भारत मैत्री संघका पूर्व राष्ट्रिय अध्यक्ष राजकुमार सिन्धी, वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा वरिष्ठ उद्योगपति अशोक वैद्य, प्रभु अस्पतालकी सञ्चालिका डा. लक्ष्मी थापा लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी क्लबकी उपाध्यक्ष श्वेता गुप्ता, पूजा खत्री, मनीषा सचदेवा, सदस्य नूतन सरावगीसहित क्लबका पदाधिकारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, उद्योगी–व्यवसायी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रदर्शनीमा नेपालका विभिन्न जिल्लासँगै भारतबाट आएका व्यवसायीहरूले हस्तकला, डिजाइनर तथा रेडिमेड परिधान, गृह सजावटका सामग्री, सौन्दर्य सामग्री, खाद्य परिकार, ज्वेलरी, हस्तनिर्मित उपहार, घरेलु उत्पादन तथा जीवनशैलीसँग सम्बन्धित विभिन्न सामग्रीका आकर्षक स्टलहरू राखेका थिए। दिनभर प्रदर्शनी अवलोकन गर्ने सर्वसाधारणको उल्लेखनीय भीड लागेको आयोजकले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देबिसहाय मीनाले यस्ता प्रदर्शनीले महिला उद्यमशीलताको विकासका साथै नेपाल–भारतबीचको व्यापारिक र सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन निजी क्षेत्र, सामाजिक संस्थाहरू तथा सरकारी निकायबीच सहकार्य आवश्यक रहेको बताए।
क्लबकी सदस्य नूतन सरावगीले विमेन्स क्रिएशन्स क्लबले विगत २२ वर्षदेखि महिला उद्यमीलाई आफ्ना उत्पादन उपभोक्तासम्म पुर्याउने प्रभावकारी मञ्च प्रदान गर्दै आएको जानकारी दिइन्। उनले स्थानीय उत्पादनको प्रवर्द्धन, सीप विकास, उद्यम विस्तार तथा महिलाको आर्थिक सशक्तीकरणका लागि क्लब निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिन्।
आयोजकका अनुसार प्रदर्शनीले महिला उद्यमीलाई प्रत्यक्ष बिक्री, नयाँ ग्राहकसँग सम्पर्क विस्तार तथा व्यावसायिक सञ्जाल निर्माण गर्ने अवसर उपलब्ध गराएको छ। साथै स्थानीय तथा भारतीय व्यवसायीबीच व्यापारिक सम्बन्ध विस्तार गर्नसमेत प्रदर्शनी प्रभावकारी बनेको विश्वास व्यक्त गरिएको छ।
सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न कार्यक्रममा सहभागीहरूले यस्ता प्रदर्शनीले स्थानीय अर्थतन्त्र चलायमान बनाउन, महिला नेतृत्व विकास गर्न तथा नयाँ पुस्तालाई उद्यमशीलतातर्फ आकर्षित गर्न महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गरेका थिए। आयोजकले आगामी वर्षहरूमा अझ व्यापक सहभागिता र नयाँ अवधारणासहित समर फेयरलाई निरन्तरता दिने जनाएको छ।