पर्सा पोस्ट, असार ३२ गते, रक्सौल (पूर्वी चम्पारण) । “सद्व्यवहार त्यो सुगन्धित फूल हो, जुन स्वच्छ, उज्ज्वल र दृढ चरित्ररूपी वृक्षमा फुल्छ। यसको सुवासले व्यक्तिको व्यक्तित्व मात्र होइन, सम्पूर्ण समाजको वातावरणलाई समेत सुगन्धित बनाउने क्षमता राख्छ।”
उक्त प्रेरणादायी विचार लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२२ ई का जोनल चेयरपर्सन, डिस्ट्रिक्ट चेयरपर्सन, समाजसेवी तथा भारत विकास परिषद् रक्सौलका सेवा संयोजक एवं मिडिया प्रभारी बिमल सर्राफले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा व्यक्त गरेका हुन्।
उनले सद्व्यवहार शिष्टता, शालीनता, विनम्रता, संवेदनशीलता र आत्मीयता जस्ता उत्कृष्ट मानवीय गुणहरूको समन्वित स्वरूप भएको उल्लेख गर्दै जसको जीवनमा यी गुणहरूको उपस्थिती हुन्छ, उसको सामाजिक व्यवहार स्वतः उत्कृष्ट बन्ने बताए। उनका अनुसार यस्ता व्यक्तिको सफलता केवल संयोगको परिणाम नभई उनीहरूको उच्च आचरण र व्यवहारको प्रतिफल हो।
सर्राफले जीवनमा सफलता प्राप्त गर्ने व्यक्तिहरूले असफलतालाई पनि अवसरका रूपमा ग्रहण गर्ने उल्लेख गर्दै असफलताले मानिसलाई आत्ममूल्याङ्कन गर्न, आफ्ना कमजोरीहरू पहिचान गर्न तथा थप परिपक्व बन्न प्रेरित गर्ने बताए।
उनले व्यवहारलाई मानिसलाई मानिससँग जोड्ने महत्वपूर्ण माध्यमका रूपमा व्याख्या गर्दै मधुर वाणी र सौम्य व्यवहारले अपरिचितलाई समेत आफ्नो बनाउन सक्ने धारणा व्यक्त गरे। प्रेम, करुणा र सद्भावले भरिएको मनबाट निस्कने शब्दहरू स्वाभाविक रूपमा मिठासपूर्ण हुने र त्यसले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने उनको भनाइ थियो।
उनका अनुसार सद्व्यवहारले केवल अरूको अनुहारमा मुस्कान ल्याउने मात्र होइन, व्यक्तिको आफ्नै जीवनलाई पनि आनन्द, सन्तोष र आत्मिक शान्तिले भरिदिन्छ। उनले पारसमणिको अस्तित्वबारे मतभेद हुन सक्ने भए पनि प्रत्येक व्यक्तिसँग रहेको सद्व्यवहार रूपी पारसमणिले सम्बन्धहरूमा विश्वास, अपनत्व र सम्मानको सुनौलो प्रकाश फैलाउन सक्ने बताए।
कार्यक्रमको अन्त्यमा सर्राफले श्रेष्ठ लोकव्यवहारलाई जीवनको वास्तविक सम्पत्ति र सफलता, सम्मान तथा महानताको दिव्य मन्त्रको संज्ञा दिँदै प्रत्येक व्यक्तिले यसलाई आफ्नो जीवनमा आत्मसात गर्न सके परिवार, समाज र राष्ट्रमा सौहार्द, विश्वास र मानवताको नयाँ चेतनाको विकास हुने विश्वास व्यक्त गरे।