पर्सा पोस्ट, असार ३२ गते, वीरगञ्ज।
बुधबार अपराह्नदेखि अचानक विद्युत् आपूर्ति अवरुद्ध भएपछि वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा खानेपानीको समस्या उत्पन्न भएको छ। गर्मीयामका बीच विद्युत् अवरुद्ध हुँदा अधिकांश घरमा जडान गरिएका पानी तान्ने मोटर सञ्चालन हुन नसकेपछि नगरवासी पिउने पानीको अभाव झेल्न बाध्य भएका थिए।

दिउँसो करिब ३ बजेदेखि विद्युत् सेवा प्रभावित भएपछि महानगरका विभिन्न वडामा धारामा पानी आउन बन्द भएको थियो। विशेषगरी घना बस्ती भएका क्षेत्रमा खानेपानीको समस्या झनै गम्भीर बन्दै गएपछि स्थानीयवासीले महानगरपालिकासँग तत्काल सहयोगको माग गरेका थिए।
उक्त परिस्थितिलाई गम्भीर रूपमा लिँदै वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको विशेष पहल तथा निर्देशनमा महानगरले राति नै वैकल्पिक खानेपानी वितरण अभियान सञ्चालन गरेको हो। महानगरपालिकाका पानी ट्याङ्करहरू परिचालन गरी पानीको अभाव भएका विभिन्न टोल तथा बस्तीहरूमा सुरक्षित खानेपानी पुर्याइएको थियो।

कार्यवाहक नगरप्रमुख आलम स्वयंले वितरण कार्यको निगरानी गर्दै सम्बन्धित कर्मचारी तथा प्राविधिक टोलीलाई आवश्यक निर्देशन दिएका थिए। महानगरको टोली राति अबेरसम्म विभिन्न प्रभावित क्षेत्रमा पुगेर खानेपानी वितरणमा सक्रिय रहेको बताइएको छ।
मध्यरातसम्म घरआँगनमै पानीको ट्याङ्कर पुगेपछि स्थानीयवासीले राहत महसुस गरेका छन्। आकस्मिक परिस्थितिमा महानगरपालिकाले देखाएको सक्रियता र जनप्रतिनिधिको जिम्मेवारीपूर्ण भूमिकाको स्थानीयले प्रशंसा गरेका छन्।
स्थानीयवासीहरूले भने, “पिउने पानीसमेत नपाउने अवस्था सिर्जना भएको थियो। यस्तो कठिन समयमा महानगरपालिकाले तत्काल पहल गरेर पानी उपलब्ध गराएपछि ठूलो राहत मिलेको छ।”
महानगरपालिकाले विद्युत् आपूर्ति पूर्ण रूपमा सहज नहुन्जेल आवश्यकताअनुसार थप ट्याङ्कर परिचालन गरी पानी वितरणलाई निरन्तरता दिने जनाएको छ। साथै आगामी दिनमा यस्ता आकस्मिक अवस्था वा विपद्का समयमा पनि नागरिकको आधारभूत आवश्यकताको पूर्तिका लागि महानगरपालिका अहोरात्र खटिने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यवाहक नगरप्रमुख इम्तियाज आलमले नागरिकको आधारभूत आवश्यकता सुनिश्चित गर्नु महानगरपालिकाको पहिलो दायित्व भएको उल्लेख गर्दै कुनै पनि संकट वा अप्ठ्यारो परिस्थितिमा महानगरपालिका सधैँ नगरवासीको साथमा रहने बताएका छन्।
विद्युत् अवरोधका कारण सिर्जना भएको संकटमा महानगरपालिकाले देखाएको तदारुकताले स्थानीय सरकारप्रतिको नागरिक विश्वास अझ बलियो बनेको स्थानीयवासीहरूको भनाइ रहेको छ।