नगर प्रहरीलाई नागरिकमैत्री व्यवहार अपनाउन र आपतकालीन अवस्थामा तत्काल परिचालन हुन कार्यवाहक प्रमुख आलमको निर्देशन

Date:

पर्सा पोस्ट, असार ३० गते, वीरगञ्ज।
वीरगञ्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले नगरबासीको सेवा, सुरक्षा तथा सार्वजनिक सम्पत्तिको संरक्षणका लागि नगरप्रहरीलाई २४सै घण्टा तयारी अवस्थामा (अलर्ट) रहन निर्देशन दिनुभएको छ।

मंगलबार वीरगञ्ज महानगरपालिकामा कार्यरत नगरप्रहरीहरूको रोलकल (हाजिरी तथा निरीक्षण) कार्यक्रमका क्रममा कार्यवाहक प्रमुख आलम तथा प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहराले संयुक्त रूपमा नगरप्रहरीलाई आफ्नो जिम्मेवारीप्रति थप संवेदनशील र सक्रिय हुन आग्रह गर्नुभएको हो।

हाल वीरगञ्ज महानगर क्षेत्रमा सडक विस्तारको कार्य तीव्र गतिमा अघि बढिरहेको तथा मनसुन सक्रिय भएसँगै पानी जम्ने, नाला अवरुद्ध हुने, यातायात व्यवस्थापनमा समस्या आउने लगायतका चुनौतीहरू देखिएकाले नगरप्रहरीको भूमिका अझ महत्वपूर्ण बनेको महानगरको भनाइ छ।
रोलकल कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख आलमले भन्नुभयो, “अहिले वीरगञ्जबासीलाई हाम्रो ठूलो आवश्यकता छ। सडक विस्तारका कारण सहर केही अस्तव्यस्त बनेको छ, जसले गर्दा नाला व्यवस्थापनदेखि ट्राफिक समस्यासम्म सर्वसाधारणले दैनिक सास्ती भोगिरहेका छन्। त्यसमाथि वर्षाको मौसमले चुनौती थपेको छ। यस्तो अवस्थामा आम जनताको अपेक्षामा खरो उत्रिनु हाम्रो दायित्व हो।”

उहाँले नगरप्रहरीलाई नागरिकमैत्री व्यवहार अपनाउन, आपत्कालीन अवस्थाहरूमा तत्काल परिचालन हुन तथा नगरबासीलाई आवश्यक सहयोग उपलब्ध गराउन निर्देशन दिनुभयो। साथै नगरको सरसफाइ, अतिक्रमण नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा विपद् व्यवस्थापनमा समेत सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।

त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहराले सीमित स्रोत–साधनका बाबजुद नगरप्रहरीले सार्वजनिक सम्पत्ति, महानगरका संरचना तथा नगरबासीको सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्नुभयो। उहाँले नगरप्रहरीका लागि आवश्यक उपकरण, सुरक्षा सामग्री तथा अन्य स्रोत–साधन छिट्टै उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कर्मचारी संयन्त्रमा अनुशासनको महत्त्वबारे चर्चा गर्दै बोहराले भन्नुभयो, “नगरप्रहरीका सबै रेकर्ड मसँग सुरक्षित छन्। म यहाँ नयाँ भए पनि करार, व्यक्ति विशेष वा स्थायी— सबै प्रकृतिका कर्मचारीहरूको फाइल अध्ययन गरेको छु। जागिरको प्रकृति जस्तो भए पनि सबैको दायित्व एउटै हो। सबैले ‘चेन अफ कमान्ड’ मा बस्न सिक्नुपर्छ।”

उहाँले इमानदारी, अनुशासन र जिम्मेवारीपूर्वक काम गर्न आग्रह गर्दै अनुशासनहीन गतिविधिमा संलग्न हुने कर्मचारीमाथि कानुनी कारबाही गरिने स्पष्ट पार्नुभयो।
कार्यक्रममा नगरप्रहरीसँग सम्बन्धित विभिन्न गुनासा तथा सुझावमाथि समेत छलफल गरिएको थियो। विशेष गरी आगामी दिनमा आयोजना हुने गहवामाई रथयात्राको सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन नगरप्रहरीलाई विशेष तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

वीरगञ्ज महानगरपालिकाले आगामी दिनमा नगरप्रहरीको क्षमता अभिवृद्धि, स्रोत–साधन व्यवस्थापन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै नगरबासीलाई सहज, सुरक्षित र व्यवस्थित वातावरण उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...