पर्सा पोस्ट, असार ३० गते, वीरगञ्ज।
वीरगञ्जस्थित ऐतिहासिक शक्तिपीठ श्री गहवा माई मन्दिर पुनर्निर्माणको १४औँ वर्ष तथा श्री गहवामाई रथमालाको चौथो वर्षको अवसरमा आयोजना हुन लागेको भव्य रथयात्रालाई लक्षित गर्दै मन्दिर परिसर तथा आसपासका क्षेत्रमा बिक्रीका लागि ल्याइने लड्डु, पेढा तथा विभिन्न प्रकारका मिठाईहरूको गुणस्तरप्रति उपभोक्ता अधिकारकर्मीहरूले गम्भीर चासो व्यक्त गरेका छन्।

आगामी २०८३ साल असार ३२ गते बिहान ८ बजेदेखि पूजा आरम्भ भई हवन कार्यक्रम तथा साँझ ६ः३० बजेदेखि प्रसाद ग्रहण कार्यक्रम सञ्चालन हुने भएकाले हजारौँ भक्तजन तथा श्रद्धालुहरूको उपस्थिति रहने अनुमान गरिएको छ। यस्तो अवस्थामा मन्दिर वरिपरि बिक्री वितरण हुने प्रसादजन्य मिठाई तथा खाद्य सामग्रीको गुणस्तर परीक्षण र अनुगमन अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका छन्।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष अजय अधिकारीका अनुसार बजारमा प्रतिकिलो १८० रुपैयाँको लड्डु लगायत सस्तो मूल्यका मिठाईहरू ठूलो परिमाणमा बिक्रीका लागि ल्याइए पनि ती सामग्रीको गुणस्तर, उत्पादन मिति, प्रयोग गरिएका कच्चा पदार्थ तथा खाद्य सुरक्षासम्बन्धी मापदण्डबारे कुनै प्रभावकारी परीक्षण हुने गरेको देखिँदैन।
उनले धार्मिक आस्थासँग जोडिएका यस्ता कार्यक्रममा भगवानलाई चढाइने प्रसाद नै गुणस्तरहीन तथा अखाद्य भए त्यसले भक्तजनहरूको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने चेतावनी दिए। “यदि प्रसादको रूपमा वितरण गरिएका गुणस्तरहीन लड्डु, पेढा तथा मिठाई सेवनबाट भक्तजन बिरामी भए त्यसको जिम्मेवारी कसले लिने?” भन्दै उनले सम्बन्धित निकायहरूलाई समयमै सचेत हुन आग्रह गरेका छन्।

अधिकारीले खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्सा, माईस्थान सञ्चालक समिति, श्री गहवा माई तीर्थ विकास समिति तथा स्थानीय प्रशासनलाई संयुक्त रूपमा बजार अनुगमन गरी गुणस्तरहीन खाद्य सामग्रीको बिक्री वितरण रोक्न माग गरेका छन्।
उनले धर्म र आस्थाको नाममा अखाद्य तथा गुणस्तरहीन मिठाई बिक्री वितरण गर्ने व्यवसायीहरूलाई उपभोक्ता संरक्षण ऐन, २०७५ तथा प्रचलित खाद्य ऐनअनुसार जरिवाना तथा कानुनी कारबाही दुवै गरिनुपर्ने माग समेत गरेका छन्।
उपभोक्ता अधिकारकर्मीहरूले धार्मिक पर्व, मेला तथा रथयात्राका अवसरमा खाद्य सामग्रीको नियमित अनुगमन, नमूना परीक्षण तथा मापदण्डविपरीत कार्य गर्ने व्यवसायी माथि कडा कारबाही भए मात्र उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित हुने बताएका छन्।
“रोग लागेपछि उपचार खोज्नु भन्दा रोग लाग्न नदिन समयमै सचेत र सजग हुनु नै सबैभन्दा प्रभावकारी उपाय हो,” भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपालले सम्बन्धित निकाय, व्यवसायी तथा उपभोक्ताहरूलाई खाद्य सुरक्षाको विषयमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।