पर्सा पोस्ट , असार ३० गते , वीरगञ्जस्थित ऐतिहासिक तथा धार्मिक शक्तिपीठ श्री गहवामाई मन्दिर पुनर्निर्माणको १४औँ वर्ष तथा श्री गहवामाई रथ मालाको चौथो वर्षको अवसरमा आयोजना हुन लागेको भव्य रथयात्रा तथा धार्मिक कार्यक्रमलाई लक्षित गर्दै बजारमा बिक्री वितरण भइरहेका लड्डु, पेडा तथा अन्य मिठाईजन्य परिकारको गुणस्तरप्रति सरोकारवालाको ध्यानाकर्षण गराइएको छ।
आगामी २०८३ साल असार ३२ गते बिहान ८ बजेदेखि पूजा आरम्भ, हवन कार्यक्रम तथा बेलुका ६ः३० बजेदेखि प्रसाद ग्रहण कार्यक्रम आयोजना हुने भएकाले मन्दिर परिसर तथा आसपासका क्षेत्रमा हजारौँ भक्तजन तथा श्रद्धालुहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ। यस अवसरमा मन्दिर आसपास बिक्री गरिने लड्डु, पेडा तथा अन्य मिठाईजन्य परिकारको गुणस्तर परीक्षण तथा अनुगमन प्रभावकारी रूपमा हुन नसकेको भन्दै उपभोक्ताहरूले चिन्ता व्यक्त गरेका छन्।
बजारमा प्रतिकिलो रु. १८० मूल्यका लड्डु बिक्री वितरण भइरहेका भए पनि ती खाद्य सामग्रीको गुणस्तर, उत्पादन प्रक्रिया तथा स्वास्थ्य मापदण्डको विषयमा सम्बन्धित निकायबाट आवश्यक परीक्षण र अनुगमन नभएको गुनासो गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्सा, स्थानीय सरोकारवाला निकाय, माईस्थान सञ्चालक समिति तथा श्री गहवामाई तीर्थ विकास समितिको पर्याप्त ध्यान पुग्न नसकेको आरोप समेत लगाइएको छ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले धार्मिक आस्था र विश्वाससँग जोडिएको प्रसादको नाममा गुणस्तरहीन तथा अखाद्य सामग्री बिक्री वितरण हुनु गम्भीर विषय भएको बताएका छन्। भगवानलाई चढाइने प्रसाद नै यदि दूषित वा गुणस्तरहीन भएमा त्यसको सेवनबाट भक्तजन बिरामी पर्न सक्ने जोखिम रहने उनको भनाइ छ।
“रोग लागेपछि उपचार खोज्नु भन्दा रोग लाग्न नदिनु नै बुद्धिमानी हो। सम्बन्धित निकायले बेलैमा बजार अनुगमन, नमूना परीक्षण तथा गुणस्तर नियन्त्रणमा विशेष ध्यान दिन आवश्यक छ,” अधिकारीले बताएका छन्।
उनले धर्मको नाममा अखाद्य तथा गुणस्तरहीन लड्डु, पेडा र मिठाई बिक्री वितरण गर्ने व्यवसायीलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना मात्र नभई कानुनी कारबाही समेत गरिनुपर्ने माग गरेका छन्।
उपभोक्ता अधिकारकर्मीहरूले धार्मिक मेला, पर्व तथा विशेष अवसरहरूमा खाद्य वस्तुको बिक्री वृद्धि हुने भएकाले खाद्य सुरक्षा तथा गुणस्तर मापदण्डको कडाइका साथ कार्यान्वयन गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्। साथै, भक्तजनहरूलाई पनि खरिद गर्नुअघि खाद्य सामग्रीको गुणस्तर, उत्पादन मिति तथा सरसफाइको अवस्थाबारे सजग रहन अनुरोध गरिएको