पर्सा पोस्ट, असार २७ गते, वीरगञ्ज।
मधेश प्रदेशकै जनआस्था र श्रद्धाको केन्द्रका रूपमा स्थापित श्री गहवा माई मन्दिरमा आयोजना हुने चौथो विशाल रथ यात्रा तथा र धार्मिक महोत्सव–२०८३ को सम्पूर्ण तयारी पूरा भएको आयोजक श्री गहवा माई तीर्थ क्षेत्र विकास समिति ले जनाएको छ। धार्मिक आस्था, सामाजिक सद्भाव तथा सांस्कृतिक एकताको प्रतीकका रूपमा स्थापित यस महोत्सवमा यस वर्ष लाखौँ श्रद्धालु भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत समितिले आगामी असार ३२ गते र श्रावण १ गते सञ्चालन हुने धार्मिक कार्यक्रमहरूको विस्तृत विवरण सार्वजनिक गर्दै वीरगञ्जसहित देश तथा विदेशबाट आउने भक्तजनलाई सहभागी भई कार्यक्रमको शोभा बढाइदिन हार्दिक आग्रह गरेको हो।
समितिका अनुसार असार ३२ गते बिहान ७:३० बजे श्री गहवा माई मन्दिर प्राङ्गणबाट विधिवत् पूजा–अर्चनापछि चौथो विशाल रथ यात्राको शुभारम्भ गरिनेछ। यस वर्षको रथ यात्राको विशेष आकर्षणका रूपमा रथ यात्रा मार्गभर हेलिकप्टरमार्फत पुष्पवर्षा गरिने व्यवस्था मिलाइएको छ, जसले सम्पूर्ण भक्तजनलाई अद्वितीय धार्मिक अनुभूति प्रदान गर्ने विश्वास गरिएको छ।
त्यसै दिन साँझ मन्दिर परिसरमा देशका प्रख्यात भजन कलाकारहरूको सहभागितामा भव्य भजन सन्ध्या आयोजना गरिनेछ भने श्रावण १ गते बिहान ६ बजेदेखि ५६ भोग पूजा तथा दिउँसो ४ बजेदेखि विशाल महाप्रसाद भण्डारा सञ्चालन गरिने कार्यक्रम रहेको समितिले जनाएको छ।
पत्रकार सम्मेलनमा समितिले रथ यात्रामा लाखौँ श्रद्धालुको सहभागिता रहने अनुमान गरिएकाले सहज आवागमन तथा सुरक्षालाई प्राथमिकतामा राख्दै मेनरोड क्षेत्रमा भइरहेको सडक विस्तार तथा तोडफोडका कार्यहरू रथ यात्रा अवधिभर स्थगित गर्न सम्बन्धित सडक डिभिजन कार्यालयलाई औपचारिक रूपमा अनुरोध गरिसकिएको जानकारी दिएको छ।
समितिले वीरगञ्जका सम्पूर्ण सामाजिक, धार्मिक, जातीय, व्यावसायिक तथा नागरिक समाजका प्रतिनिधिहरूलाई कार्यक्रमलाई सफल बनाउन हातेमालो गर्न आह्वान गरेको छ। साथै रथ यात्रा मार्गमा पर्ने घर तथा व्यावसायिक प्रतिष्ठानहरूमा कलश स्थापना, तोरण सजावट, दीप प्रज्वलन गरी माताको स्वागत गर्न तथा श्रद्धालुहरूका लागि खानेपानी, सर्वत र अन्य सेवामूलक व्यवस्था मिलाउन आग्रह गरिएको छ।
आयोजक समितिले गहवा माईको रथ यात्रा कुनै एक समुदाय वा वर्गको मात्र कार्यक्रम नभई वीरगञ्जको सांस्कृतिक पहिचान, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र सामुदायिक एकताको महाउत्सव भएको उल्लेख गर्दै सबै समुदाय, वर्ग, क्षेत्र र पेशाका व्यक्तिहरूबाट साथ, सहयोग र सहभागिताको अपेक्षा गरेको छ।
समितिका पदाधिकारीहरूले सम्पूर्ण भक्तजनलाई रथ यात्रामा उपस्थित भई धार्मिक उत्सवको गरिमा र शोभा अझ बढाइदिन विशेष अनुरोध गरेका छन्। “माताको आशीर्वाद प्राप्त गर्ने यस पावन अवसरमा सबै समुदाय, धर्म र संस्कृतिका नागरिकको सहभागिताले वीरगञ्जको आपसी सद्भाव र एकताको सन्देशलाई अझ बलियो बनाउनेछ,” समितिको भनाइ छ।
पत्रकार सम्मेलनमा रथ यात्रा–२०८३ की महिला संयोजक विभा साह, संयोजक बसन्त कुमार गुप्ता, प्रचार–प्रसार उपसमितिका संयोजक श्याम प्रसाद गुप्ता, श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्याम पोखरेल, सचिव लक्ष्मीनारायण गुप्ता (पप्पु गुप्ता) लगायत समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
आयोजक समितिले अन्त्यमा सम्पूर्ण श्रद्धालु भक्तजनलाई “आउनुहोस्, गहवा माईको चौथो विशाल रथ यात्रामा सहभागी बनौँ, धार्मिक आस्था, सामाजिक सद्भाव र वीरगञ्जको गौरवलाई अझ उचाइमा पुर्याऔँ” भन्ने सन्देश दिएको छ।