पर्सा पोस्ट , असार २४ गते , वीरगन्ज ।
वीरगन्ज महानगरपालिका लाई सफा, सुन्दर, हराभरा तथा व्यवस्थित सहरका रूपमा विकास गर्ने उद्देश्यले गठन गरिएको ‘एक्सन टिम’ को नेतृत्व तथा जिम्मेवारी सरसफाइ प्रमुख सरफुद्दिन मियाँ लाई सुम्पिएको छ।

सोमबारदेखि मियाँले जिम्मेवारी सम्हालेसँगै सहरका विभिन्न स्थानमा सरसफाइ, सडकपेटी (फुटपाथ) संरक्षण तथा सार्वजनिक स्थान अतिक्रमणमुक्त गराउने विशेष अभियान सञ्चालन गरिने महानगरका कार्यवाहक प्रमुख इम्तियाज आलम ले जानकारी दिनुभयो।
एक्सन टिमको जिम्मेवारी हस्तान्तरण गर्दै कार्यवाहक प्रमुख आलमले सहरमा कुनै पनि प्रकारको अतिक्रमण, फोहोरमैला व्यवस्थापनमा लापरवाही तथा महानगरले सञ्चालन गरिरहेका कार्यक्रमहरूमा कमजोरी हुन नदिन कडा निर्देशन दिनुभएको छ। उहाँले यो अभियान मुख्य सडकमा मात्र सीमित नरही महानगरका ३२ वटै वडामा प्रभावकारी रूपमा सञ्चालन गरिने बताउनुभयो।

महानगरको गरिमा उच्च राख्न, आम नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिन तथा दैनिक जीवनमा आइपर्ने समस्याहरूलाई मध्यनजर गर्दै नागरिकमैत्री र परिणाममुखी ढंगले काम गर्न कार्यवाहक प्रमुख आलमले सम्बन्धित निकाय तथा एक्सन टिमलाई निर्देशन दिनुभएको छ।
महानगरले अब जथाभावी फोहोर फाल्ने, सार्वजनिक स्थान फोहोर बनाउने तथा सडक, नाला, फुटपाथ र सरकारी जग्गा अतिक्रमण गर्ने गतिविधिमाथि कडा निगरानी र कारबाही प्रक्रिया अगाडि बढाउने जनाएको छ। बजार क्षेत्र, मुख्य सडक, चोक, गल्ली तथा सार्वजनिक स्थलहरूमा नियमित अनुगमन गरी नियम उल्लंघन गर्नेमाथि आवश्यक कानुनी प्रक्रिया अपनाइने महानगरले जनाएको छ।
यस अभियानप्रति नगरवासीहरूले समेत सकारात्मक प्रतिक्रिया जनाएका छन्। लामो समयदेखि फोहोर व्यवस्थापन, अव्यवस्थित पार्किङ तथा फुटपाथ अतिक्रमणका कारण समस्या भोग्दै आएका स्थानीयहरूले अब वीरगन्जलाई सफा, सुन्दर र व्यवस्थित सहरका रूपमा विकास गर्न महानगरले थालेको पहल स्वागतयोग्य रहेको बताएका छन्।
स्थानीयवासीहरूको भनाइमा, “यदि महानगरले निरन्तर अनुगमन र कडाइका साथ अभियान सञ्चालन गर्न सक्यो भने अब वीरगन्ज जथाभावी फोहोर फाल्ने प्रवृत्तिबाट मुक्त हुँदै अतिक्रमणरहित, हराभरा र सुन्दर नगरका रूपमा स्थापित हुनेछ।”
नगरवासीहरूले महानगरको अभियान सफल बनाउन प्रत्येक नागरिकले घरबाट निस्किने फोहोर व्यवस्थापनमा जिम्मेवार बन्नुका साथै सार्वजनिक सम्पत्ति संरक्षण र सरसफाइ अभियानमा सक्रिय सहभागिता जनाउनुपर्नेमा जोड दिएका छन्।