पर्सा पोस्ट , असार २४ गते , रक्सौल, पूर्वी चम्पारण ।
जीवनलाई सफल, सार्थक र उद्देश्यपूर्ण बनाउन दृढ संकल्प, आत्मविश्वास, निश्चित लक्ष्य, अनुकूल वातावरण, श्रद्धा तथा सही विचार आवश्यक आधारस्तम्भ भएको सामाजिक कार्यकर्ता बिमल सर्राफले बताएका छन्।
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२२ ई का जोनल चेयरपर्सन तथा डिस्ट्रिक्ट चेयरपर्सन एवं भारत विकास परिषद् रक्सौलका सेवा संयोजक तथा मिडिया प्रभारी सर्राफले सञ्चारकर्मीसँग कुराकानी गर्दै जीवनलाई सुन्दर बगैँचासँग तुलना गरेका हुन्। उनले भने, “जसरी बगैँचामा फुलेका फूलहरूले सम्पूर्ण वातावरणलाई सुगन्धित बनाउँछन्, त्यसैगरी सकारात्मक सोच, आत्मविश्वास र दृढ संकल्पले भरिएको जीवनले समाजलाई प्रेरणा र उत्साह प्रदान गर्दछ।”
उनका अनुसार जीवन केही महत्वपूर्ण स्तम्भमाथि अडिएको हुन्छ। यदि ती स्तम्भ कमजोर भए जीवनको वास्तविक महत्व घट्दै जान्छ। दृढ संकल्पले मानिसको जीवनमा आमूल परिवर्तन ल्याउने क्षमता राख्ने उल्लेख गर्दै उनले संसारमा धेरै मानिस असफल हुनुको प्रमुख कारण नै संकल्पमा कमजोरी र बीचमै लक्ष्य त्याग्ने प्रवृत्ति रहेको बताए।
“मानिसले आफ्नो संकल्प कहिल्यै कमजोर हुन दिनु हुँदैन। जसरी बाँच्नका लागि भोजन आवश्यक हुन्छ, त्यसैगरी सफलताको लागि आत्मविश्वास अपरिहार्य हुन्छ,” उनले भने। आत्मविश्वासले संघर्षका कठिन परिस्थितिसँग जुध्ने, चुनौतीलाई अवसरमा बदल्ने तथा असम्भव देखिएका बाटाहरू समेत खोज्न सक्ने शक्ति प्रदान गर्ने उनको भनाइ थियो।
सर्राफले अनुकूल वातावरणले व्यक्तिको स्वतन्त्र सोच, सिर्जनशीलता र क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। गलत वातावरणमा रहेर व्यक्तिले आफ्नो पूर्ण विकास गर्न नसक्ने उल्लेख गर्दै उनले सकारात्मक सोच र प्रेरणादायी वातावरण निर्माणमा समाज तथा परिवारको भूमिका महत्वपूर्ण हुने धारणा राखे।
उनले जीवनमा श्रद्धाको विशेष महत्व रहेको उल्लेख गर्दै कठिन परिस्थितिमा पनि आशा, धैर्यता र विश्वासले मानिसलाई अगाडि बढ्न प्रेरित गर्ने बताए। “जब अगाडि उज्यालो देखिँदैन, त्यही बेला श्रद्धा र विश्वासले अन्धकारमा पनि सुरक्षित रूपमा अगाडि बढ्ने साहस दिन्छ,” उनले भने।
सही विचार र सकारात्मक सोचले मानिसको व्यक्तित्वलाई विशाल र परिपक्व बनाउने उल्लेख गर्दै उनले विचारको शक्ति अत्यन्त प्रभावशाली हुने बताए। सकारात्मक सोच भएका व्यक्तिका लागि परिस्थिति बाधा नभई अवसर बन्ने उनको भनाइ थियो।
जीवनरूपी उपवनमा दृढ संकल्प, आत्मविश्वास, निश्चित उद्देश्य, श्रद्धा र सही विचाररूपी फूलहरू फुल्न सके मात्र जीवन वास्तवमै सार्थक बन्ने सर्राफले बताए। उनले जीवनलाई एउटा पुस्तकसँग तुलना गर्दै प्रत्येक अनुभव र प्रत्येक पानाबाट सिक्दै अगाडि बढ्नुपर्नेमा जोड दिए।