पर्सा पोस्ट |, असार २२ गते , काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य हरि पन्त ले प्रतिनिधिसभामा उठाइने जनसरोकारका विषयलाई सरकारले बेवास्ता गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले जनप्रतिनिधिहरूले सदनमा उठाएका विषय सरकारसम्म प्रभावकारी रूपमा नपुगेको महसुस भइरहेको बताउँदै सभामुखको ध्यानाकर्षण गराएका हुन्। उनले जनताका आवाज सरकारसम्म पुग्ने प्रभावकारी संयन्त्र निर्माण गर्न आवश्यक रहेको बताए।
सांसद पन्तले वीरगञ्जका अधिकांश तारे होटलमा सञ्चालित क्यासिनोमा नेपाली नागरिकलाई समेत प्रवेश गराइएको भन्दै स्थानीयवासीबाट व्यापक गुनासो प्राप्त भएको जानकारी गराए। विदेशी पर्यटकका लागि सञ्चालन अनुमति दिइएका क्यासिनोमा प्रहरी–प्रशासनको मिलेमतोमा नेपाली नागरिकलाई प्रवेश गराइएको आरोप स्थानीयले लगाएको उनको भनाइ थियो।
क्यासिनोको लतका कारण व्यवसायी, युवा उद्यमी, मध्यमवर्गीय परिवार तथा विभिन्न पेशामा आबद्ध व्यक्तिहरू आर्थिक, सामाजिक र पारिवारिक रूपमा प्रभावित भइरहेको उल्लेख गर्दै उनले यस विषयलाई गम्भीर रूपमा लिन सरकारसँग आग्रह गरे। उनले सभामुखमार्फत सरकार तथा पर्सा प्रशासनलाई क्यासिनोमा नेपाली नागरिकको प्रवेश पूर्ण रूपमा रोक्न आवश्यक कदम चाल्न माग गरे।
यसैगरी सांसद पन्तले वीरगञ्ज नाकाबाट भारततर्फ गाँजा, चरेसलगायत लागूऔषध तस्करी भइरहेको विषय पनि सदनमा उठाए। भारतीय सुरक्षा निकायले पटक–पटक ठूलो परिमाणमा लागूऔषध बरामद गरिरहेको समाचार सार्वजनिक भइरहेका बेला नेपालतर्फको सुरक्षा निगरानी र पर्सा प्रहरीको भूमिकामाथि प्रश्न उठ्नु स्वाभाविक भएको उनको भनाइ थियो।
सीमावर्ती क्षेत्रमा लागूऔषध तस्करी नियन्त्रणका लागि सुरक्षा निकायबीच प्रभावकारी समन्वय, कडा निगरानी तथा दोषीमाथि कानुनी कारबाही आवश्यक रहेको सांसद पन्तले बताए। उनले लागूऔषध तस्करी, क्यासिनोको विकृति तथा अन्य सामाजिक समस्याप्रति सरकार गम्भीर बन्नुपर्ने भन्दै जनसरोकारका विषयलाई प्राथमिकतामा राख्न आग्रह गरे।
सांसद पन्तले उठाएका यी विषयले वीरगञ्ज तथा पर्सा जिल्लामा बढ्दो सामाजिक चुनौती, सुरक्षा व्यवस्थापन र प्रशासनिक जवाफदेहिताको प्रश्नलाई पुनः राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ।नेपालीको