पर्सा पोस्ट , असार २३ गते, वीरगञ्ज ।
मधेश प्रदेशकै ऐतिहासिक तथा जनआस्थाको केन्द्रका रूपमा परिचित श्री गहवा माईको चौथो विशाल रथ यात्रालाई लक्षित गर्दै तयार पारिएको भक्तिमय भजन “सोनवा के रथ गहवा माई के” को डिजिटल भिडियो मंगलबार वीरगञ्जस्थित माईस्थान मन्दिर परिसरमा एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ।

श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा सम्पन्न कार्यक्रममा गहवा माईप्रतिको श्रद्धा, आस्था र भक्तिभावलाई समेटिएको उक्त भजन सार्वजनिक गरिएको हो। धार्मिक तथा सांस्कृतिक भावनाले ओतप्रोत भजनमा वीरगञ्जका उदयमान युवा गायक चन्दन पण्डितले सुमधुर स्वर दिएका छन्। आयोजकका अनुसार भजनले गहवा माईको धार्मिक महिमा तथा रथ यात्राको महत्वलाई नयाँ पुस्तासम्म पुर्याउने विश्वास लिइएको छ।

कार्यक्रममा उपस्थित वक्ताहरूले गहवा माईको रथ यात्रा वीरगञ्जको धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्व भएको उल्लेख गर्दै यसको संरक्षण, प्रवर्द्धन तथा निरन्तरताका लागि सम्पूर्ण समुदायको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
समारोहमा बोल्दै आयोजकहरूले सम्पूर्ण भक्तजनलाई “CHANDAN PANDIT OFFICIAL” युट्युब च्यानलमार्फत भजन हेर्न, सुन्न तथा सामाजिक सञ्जालमा बढीभन्दा बढी साझा गरी गहवा माईको महिमा देश–विदेशसम्म फैलाउन आग्रह गरेका थिए।
भजन विमोचन कार्यक्रम श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्याम पोखरेलको अध्यक्षतामा तथा समाजसेवी प्रकाश उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा श्री गहवा माई रथ यात्रा–२०८३ का संयोजक बसन्त कुमार गुप्ता, समितिका सचिव लक्ष्मीनारायण गुप्ता (पप्पु गुप्ता), विद्वान पण्डित एवं ज्योतिषी राजिव रन्जन भार्द्वज, विभिन्न पदाधिकारी, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समितिका अनुसार आगामी असार ३२ गते आयोजना हुने चौथो विशाल रथ यात्रामा हजारौं श्रद्धालु भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ। रथ यात्रालाई सभ्य, भव्य र व्यवस्थित बनाउन सुरक्षा व्यवस्थादेखि स्वयंसेवक परिचालन, रथ सजावट, मार्ग व्यवस्थापन तथा भक्तजन सुविधासम्बन्धी सम्पूर्ण तयारीलाई तीव्रता दिइएको समितिले जनाएको छ।
वीरगञ्जको धार्मिक आस्थासँग गहिरो रूपमा जोडिएको गहवा माईको रथ यात्राले हरेक वर्ष श्रद्धालुहरूको उत्साह र सहभागिता बढाउँदै लगेको छ। यस वर्ष सार्वजनिक गरिएको भक्तिमय भजनले रथ यात्राप्रति जनआकर्षण थप बढाउने विश्वास आयोजकहरूको रहेको छ।