पर्सा पोस्ट , असार २२ गते , जनकपुर ।
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सञ्चालन गरिरहेको खाद्य स्वच्छता अनुगमन अभियानका क्रममा जनकपुरधामस्थित चर्चित पुरानो नवरंग होटल मा उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष खेलवाड भएको पाइएको छ। बाहिरबाट आकर्षक र भीडभाडयुक्त देखिने उक्त होटलको भान्सा अत्यन्त फोहोर अवस्थामा रहेको, खाद्य सामग्री अव्यवस्थित रूपमा भण्डारण गरिएको तथा आधारभूत सरसफाइसम्बन्धी मापदण्डसमेत पालना नगरी उपभोक्तालाई गुणस्तरहीन खाना खुवाइएको निष्कर्षसहित मन्त्रालयले होटललाई ४० हजार रुपैयाँ जरिवाना गरेको हो।
अनुगमन टोलीका अनुसार होटलको भान्साघरमा सरसफाइको अवस्था अत्यन्त कमजोर भेटिएको थियो। प्रयोग गरिने भाँडाकुँडा, खाद्य सामग्री राख्ने स्थान, पकाउने क्षेत्र तथा भण्डारण व्यवस्थापनमा गम्भीर लापरबाही देखिएको जनाइएको छ। दैनिक सयौँ ग्राहक आउने होटलमा खाद्य सुरक्षाको न्यूनतम मापदण्डसमेत बेवास्ता गरिएको भेटिएपछि उपभोक्ताको स्वास्थ्यमाथि खुला रूपमा जोखिम सिर्जना गरिएको भन्दै स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन्।
स्थानीय उपभोक्ताहरूका अनुसार “जति ठूलो होटल, त्यति नै लापरबाही” भन्ने अवस्था पुरानो नवरंग होटलमा देखिएको छ। स्वाद र प्रतिष्ठाको नाममा उपभोक्तालाई अस्वस्थ, गुणस्तरहीन तथा अस्वच्छ खाना खुवाएर व्यवसायीले ठूलो आर्थिक लाभ कमाउँदै आएको आरोपसमेत स्थानीयले लगाएका छन्। होटल सम्हाल्दै आएका प्रकाश भगतमाथि लामो समयदेखि गुणस्तरहीन खाना बिक्री गरेर सम्पत्ति आर्जन गरेको आरोप लाग्दै आए पनि सम्बन्धित पक्ष भने सार्वजनिक रूपमा बोल्न तयार देखिएको छैन। होटल भने सुजाता कुमारीको नाममा दर्ता रहेको बताइएको छ।
यससँगै अर्को गम्भीर विषय पनि सार्वजनिक भएको छ। जनकपुरधामको परिक्रमा सडक क्षेत्रभित्र मदिरा तथा मासुजन्य परिकारको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको भए पनि पुरानो नवरंग होटलमा उक्त प्रतिबन्ध प्रभावकारी रूपमा कार्यान्वयन नभएको स्थानीयवासीको दाबी छ। स्थानीयका अनुसार होटलमा खुलेआम मदिरा र मासुजन्य परिकार बिक्री हुँदै आएको छ, तर सम्बन्धित निकायले प्रभावकारी निगरानी नगर्दा नियम उल्लंघन निरन्तर भइरहेको छ।
उपभोक्ता अधिकारकर्मीहरूले सामान्य जरिवाना मात्रै पर्याप्त नहुने बताएका छन्। “उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष खेलवाड गर्ने व्यवसायलाई केवल जरिवाना गरेर छोड्नु हुँदैन, पुनः अनुगमन गरी मापदण्ड पूरा नभएसम्म सञ्चालनमा समेत रोक लगाउनुपर्छ,” एक स्थानीय उपभोक्ता अधिकारकर्मीले बताएका छन्।
मन्त्रालयले असार १५ गतेदेखि धनुषाका होटल तथा रेष्टुरेन्टमा खाद्य स्वच्छता अनुगमन अभियान सञ्चालन गर्दै आएको छ। अभियानअन्तर्गत हालसम्म खाद्य सुरक्षा तथा उपभोक्ता संरक्षणसम्बन्धी मापदण्ड उल्लंघन गर्ने विभिन्न होटल तथा रेष्टुरेन्टबाट दुई लाख रुपैयाँभन्दा बढी जरिवाना असुल गरिएको छ।
अनुगमन टोलीका अनुसार लक्ष्मीनियास्थित बाबाको ढाबालाई ३५ हजार रुपैयाँ, ढल्केबरको द रोयल सम्राटलाई ५ हजार रुपैयाँ, जनकपुरधामस्थित बाजेको सेकुवालाई ७५ हजार रुपैयाँ, बर्गर हाउसलाई ३५ हजार रुपैयाँ तथा राजु होटललाई ४० हजार रुपैयाँ जरिवाना गरिएको छ।
मन्त्रालयले होटल तथा रेष्टुरेन्टमा खाद्य स्वच्छता, सरसफाइ र गुणस्तरसम्बन्धी मापदण्ड कडाइका साथ लागू गरिने जनाएको छ। पुनः लापरबाही दोहोरिए कानुनबमोजिम थप कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
पुरानो नवरंग होटलमाथिको कारबाहीले नाम, भीड र लोकप्रियता ठूलो हुँदैमा व्यवसाय कानुनभन्दा माथि नहुने स्पष्ट सन्देश दिएको स्थानीयवासीको भनाइ छ। उपभोक्ताको विश्वास जित्ने आधार केवल स्वाद र प्रचार नभई स्वच्छता, गुणस्तर, पारदर्शिता र कानुनी मापदण्डको पूर्ण पालना हो भन्ने तथ्यलाई यस घटनाले पुनः उजागर गरेको छ। अहिले स्थानीयवासीले पुरानो नवरंग होटलमाथि थप कडा कारबाही, नियमित अनुगमन तथा उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन्।