पर्सा पोस्ट , असार २१ गते , वीरगञ्ज ।
वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पस नयाँ व्यवस्थापन समिति गठन भएपछि पुनः शैक्षिक लयमा फर्किन थालेको भन्दै विद्यार्थीहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। पछिल्ला केही समयदेखि क्याम्पसको शैक्षिक वातावरण, प्रशासनिक व्यवस्थापन तथा नियमित पठनपाठनलाई लिएर उठिरहेका विभिन्न टिप्पणी र असन्तुष्टिबीच नयाँ नेतृत्व आएपछि क्याम्पसभित्र सुधारको अनुभूति हुन थालेको विद्यार्थीहरूको भनाइ छ।
विद्यार्थीहरूका अनुसार नयाँ व्यवस्थापन सक्रिय भएपछि नियमित कक्षा सञ्चालन, अनुशासन कायम, प्रशासनिक काममा सहजता तथा क्याम्पसको समग्र वातावरणमा सकारात्मक परिवर्तन देखिन थालेको छ। क्याम्पस परिसरमा विद्यार्थीहरूको उपस्थितिसमेत बढ्दै गएको र शैक्षिक गतिविधि व्यवस्थित बन्दै गएको उनीहरूले बताएका छन्।
एक विद्यार्थीले भने, “अब हाम्रो कलेज पुरानै शैक्षिक लयमा फर्किँदै छ। नयाँ व्यवस्थापन आएपछि पढाइ, अनुशासन र वातावरणमा सुधार भएको महसुस गरेका छौं। यसले विद्यार्थीहरूमा नयाँ ऊर्जा र उत्साह थपेको छ।”
यसैबीच शनिबार क्याम्पस व्यवस्थापन समितिको तर्फबाट विद्यार्थीहरूलाई बनभोज तथा मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुन शुभकामनासहित बिदाइ गरिएको छ। कार्यक्रममा व्यवस्थापन समितिका सदस्य सुरेश रुङटा, जयप्रकाश खेतानलगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
उक्त अवसरमा बोल्दै पदाधिकारीहरूले विद्यार्थीहरूलाई सुरक्षित, सफल र सुखद यात्राको शुभकामना व्यक्त गरेका थिए। उनीहरूले शैक्षिक गतिविधिसँगै अतिरिक्त कार्यक्रमले विद्यार्थीहरूबीच आपसी सम्बन्ध, सहकार्य, नेतृत्व विकास तथा सकारात्मक सोचको विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
बनभोज कार्यक्रममा सहभागी विद्यार्थीहरू उत्साहित देखिएका थिए। उनीहरूले नयाँ व्यवस्थापन समितिले शैक्षिक गुणस्तर सुधारसँगै विद्यार्थीमैत्री वातावरण निर्माण गर्न थालेको भन्दै आगामी दिनमा थप प्रभावकारी सुधारका कार्यक्रम सञ्चालन हुने अपेक्षा व्यक्त गरेका छन्।
क्याम्पस स्रोतका अनुसार नयाँ व्यवस्थापन समिति गठन भएसँगै शैक्षिक तथा प्रशासनिक गतिविधिलाई थप व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने कार्यलाई प्राथमिकता दिइएको छ। विद्यार्थीको विश्वास, सहभागिता र सुझावलाई केन्द्रमा राखेर अघि बढ्ने रणनीतिअनुसार क्याम्पसलाई पुनः उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको जनाइएको छ।
स्थानीय अभिभावक तथा शिक्षासँग सरोकार राख्ने व्यक्तिहरूले पनि नयाँ व्यवस्थापनको सक्रियतालाई सकारात्मक रूपमा लिँदै क्याम्पसमा स्थायित्व, शैक्षिक सुधार र विश्वासको वातावरण कायम रहने अपेक्षा व्यक्त गरेका छन्।