पर्सा पोस्ट , असार २१ गते , बिरगंज ।
शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी, गुणस्तरीय तथा परिणाममुखी बनाउने उद्देश्यका साथ विद्यार्थी मूल्याङ्कन विषयक एकदिने शिक्षक प्रशिक्षण (वर्कशप) आइतबार वीरगञ्जमा सम्पन्न भएको छ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) पर्साको आयोजनामा वीरगञ्जस्थित बीपीसी कलेज (पुरानो भवन) मा आयोजित “विद्यार्थी मूल्याङ्कन (Students Evaluation)” विषयक प्रशिक्षण कार्यक्रममा जिल्लाभरका विभिन्न सदस्य विद्यालयका करिब १८० जना शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम नेशनल प्याब्सन पर्साका नगर अध्यक्ष सोनालाल पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय सचिव इन्द्रदेव साह विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। त्यसैगरी जिल्ला कोषाध्यक्ष राजेश कुमार लिम्बु, नगर उपाध्यक्ष सन्तोष साह, जिल्ला सदस्य शशी साह, रामप्रसाद चौधरी तथा रवि साह, साथै बहुदरमाई नगर अध्यक्षलगायतको उपस्थिति रहेको थियो।

कार्यशालामा विद्यालयमा लागू गरिने विद्यार्थी मूल्याङ्कन प्रणाली, सिकाइ उपलब्धिको प्रभावकारी मूल्याङ्कन, परीक्षा व्यवस्थापन, निरन्तर मूल्याङ्कन, विद्यार्थीको सिकाइ सुधारका उपाय तथा आधुनिक मूल्याङ्कन पद्धतिबारे विशेषज्ञ प्रशिक्षकद्वारा प्रशिक्षण प्रदान गरिएको थियो। प्रशिक्षणका क्रममा विद्यार्थीको सिकाइलाई निष्पक्ष, पारदर्शी र प्रभावकारी रूपमा मूल्याङ्कन गर्ने विधि, कक्षाकोठामा प्रयोग गर्न सकिने व्यवहारिक उपाय तथा समयअनुकूल मूल्याङ्कन प्रणालीबारे विस्तृत छलफल गरिएको थियो।
प्रशिक्षकहरूले परम्परागत परीक्षा प्रणालीसँगै व्यवहारिक, परियोजनामूलक तथा सहभागितामूलक मूल्याङ्कन प्रणालीलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याएका थिए। उनीहरूले विद्यार्थीको सिर्जनात्मकता, विश्लेषण क्षमता तथा व्यवहारिक ज्ञानलाई समेत मूल्याङ्कनको आधार बनाइनुपर्ने धारणा राखेका थिए।
कार्यक्रममा बोल्दै सहभागी शिक्षकहरूले यस्ता क्षमता अभिवृद्धिमूलक तालिमले शिक्षण पद्धतिलाई आधुनिक, वैज्ञानिक तथा विद्यार्थीकेन्द्रित बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। उनीहरूले प्रशिक्षणबाट प्राप्त ज्ञान र अनुभवलाई विद्यालय तथा कक्षाकोठामा व्यवहारिक रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।
नेशनल प्याब्सन पर्साले यस्ता प्रशिक्षण कार्यक्रमले शिक्षकहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्नुका साथै विद्यालयमा गुणस्तरीय शिक्षण अभ्यासलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेको छ। संस्थाले आगामी दिनमा पनि शिक्षकहरूको पेशागत क्षमता विकास तथा शिक्षाको गुणस्तर अभिवृद्धिका लागि यस्ता प्रशिक्षण, कार्यशाला तथा अन्तरक्रियात्मक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
उक्त कार्यक्रमलाई गणेश पुस्तक, वीरगञ्जले सहकार्य गरेको थियो। कार्यक्रमको सञ्चालन तथा समन्वय नेशनल प्याब्सन पर्साका पदाधिकारीहरूले गरेका थिए।