पर्सा पोस्ट , असार २१ गते , वीरगञ्ज ।
वीरगञ्जमा आयोजित दुईदिने “पर्सा चेस च्याम्पियनसिप–२०८३” प्रतियोगिता आइतबार सम्पन्न भएको छ। युथलिंक वीरगञ्जको आयोजना तथा पर्सा जिल्ला बुद्धीचाल संघको सहकार्यमा सम्पन्न प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालय तथा क्लबबाट करिब १०० जना खेलाडीहरूको सहभागिता रहेको थियो।

प्रतियोगिताको छात्रतर्फ मुनलाइट माविका ब्राह्मण विश्वास झा प्रथम भएका छन् भने छात्रातर्फ मुनलाइट मावीकै सनम श्रेष्ठ प्रथम भएकी छन्। त्यसैगरी छात्रतर्फ रिसब कुमार द्वितीय तथा संस्कार आर्याल तृतीय भए भने छात्रातर्फ आफ्रिन खातुन द्वितीय र दिव्यांशी सिकारिया तृतीय भएकी छन्।

युथलिंक वीरगञ्जका अध्यक्ष अभिषेक सर्राफको अध्यक्षतामा तथा पर्सा जिल्ला बुद्धीचाल संघका अध्यक्ष सुलभ केसीको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा मुनलाइट स्कुलका संस्थापक श्याम केसी, वीरगञ्ज पब्लिक कलेजका डा. बासु कर्ण, मानवसेवा आश्रमका देवेश गुप्ता, ओम कुमार झा, मिशन बास्कोटा, प्रोग्राम डाइरेक्टर रोशन सरार्फ, विजय सरार्फ, अजित कुमार साह, सञ्चारकर्मी अभिलाष गुप्ता, अजित कुमार भुजेल, उज्ज्वल घिमिरे लगायतको विशेष उपस्थिति रहेको थियो।

समापन समारोहलाई सम्बोधन गर्दै पर्सा जिल्ला बुद्धीचाल संघका अध्यक्ष सुलभ केसीले विद्यार्थीहरूको पढाइसँगै अतिरिक्त क्रियाकलाप, शारीरिक खेलकुद तथा मानसिक बुद्धिको विकासका लागि चेस खेल अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले चेस खेलले विद्यार्थीमा निर्णय क्षमता, धैर्यता, विश्लेषणात्मक सोच तथा नेतृत्व विकास गर्ने उल्लेख गर्दै यस्ता प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

केसीले वीरगञ्जमा पहिलो पटक राष्ट्रिय स्तरको चेस प्रतियोगिता आयोजना गरिएको जानकारी दिँदै मुनलाइट माविकी छात्रा सनम श्रेष्ठले अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा सहभागी भई विद्यालय तथा देशको प्रतिनिधित्व गरिसकेको उल्लेख गरे। उनले आगामी दिनहरूमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा विजेता खेलाडीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्दै आयोजकले विद्यार्थीहरूको प्रतिभा उजागर गर्न यस्ता प्रतियोगिता प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए।