पर्सा पोस्ट, असार २० गते, वीरगञ्ज ।
वीरगञ्ज उद्योग वाणिज्य संघ (BiCCI), नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI), अन्तर्राष्ट्रिय श्रम संगठन (ILO), वीरगञ्ज महानगरपालिका, लिडरशिप डेभलपमेन्ट इन्स्टिच्युट (LDI) तथा ह्युमन रिसोर्स सोसाइटी, मधेश च्याप्टर (HR Society Madhesh Chapter) को संयुक्त आयोजनामा सञ्चालन भइरहेको “रोजगार मेला २०८३” अन्तर्गत शनिबार ‘सीभी (CV) निर्माण तथा अन्तर्वार्ता तयारी’ सम्बन्धी व्यावसायिक प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

वीरगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा रोजगारीको खोजीमा रहेका युवायुवतीहरूलाई आधुनिक रोजगार बजारको आवश्यकता अनुसार दक्ष, आत्मविश्वासी तथा प्रतिस्पर्धी बनाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ। कार्यक्रममा प्रभावकारी सीभी लेखन, अन्तर्वार्ताको तयारी, व्यक्तित्व विकास, व्यावसायिक आचरण, सञ्चार सीप तथा आत्मविश्वास अभिवृद्धिसम्बन्धी व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रमको अध्यक्षता वीरगञ्ज उद्योग वाणिज्य संघ (BiCCI) का अध्यक्ष हरि प्रसाद गौतमले गर्नुभएको थियो। कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाल, सहसचिव अनुप कुमार अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का सहायक निर्देशक हरि पौडेल तथा छिरिङ तामाङको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमका मुख्य प्रशिक्षक तथा एचआर सोसाइटी मधेश च्याप्टरका अध्यक्ष अनिल जैसवालले वर्तमान प्रतिस्पर्धी रोजगार बजारमा केवल शैक्षिक योग्यता मात्र पर्याप्त नहुने उल्लेख गर्दै व्यावसायिक प्रस्तुतीकरण, व्यवहारिक सीप र आत्मविश्वासले रोजगारी प्राप्तिमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले सही ढंगले तयार गरिएको सीभी र प्रभावकारी अन्तर्वार्ता प्रस्तुतीकरणले अवसर प्राप्तिको सम्भावना धेरै बढाउने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमको प्राविधिक सहजीकरण लिडरशिप डेभलपमेन्ट इन्स्टिच्युट (LDI) तथा ह्युमन रिसोर्स सोसाइटी, मधेश च्याप्टरले गरेको थियो। कार्यक्रममा ५९ जना युवायुवतीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ। सहभागीहरूले प्रशिक्षण आफ्नो करियर निर्माण तथा रोजगारी तयारीका लागि अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिएका थिए।
आयोजक संस्थाहरूका अनुसार रोजगार मेला २०८३ अन्तर्गत आइतबार असार २१ गते वीरगञ्जस्थित होटल भिस्वामा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म रोजगार मेला आयोजना गरिनेछ। मेलामा विभिन्न कम्पनी तथा रोजगारदाताहरूको सहभागिता रहने र रोजगार खोजिरहेका युवाहरूलाई प्रत्यक्ष अवसर उपलब्ध गराइने जनाइएको छ।
यस्ता क्षमता विकासमूलक कार्यक्रमहरूले स्थानीय स्तरमै दक्ष तथा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न, रोजगारदाता र रोजगार खोज्ने युवाबीच प्रभावकारी समन्वय स्थापित गर्न तथा बेरोजगारी न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजक संस्थाहरूले व्यक्त गरेका छन्।