पर्सा पोस्ट , असार २० गते , वीरगञ्ज ।
अत्यधिक गर्मीका कारण अस्पतालहरूमा रगतको माग बढ्दै गएको अवस्थामा वीरगञ्ज महानगरपालिका वडा नं. ३ को आयोजनामा शनिबार सम्पन्न रक्तदान कार्यक्रमले रगत अभाव न्यूनीकरणमा केही हदसम्म राहत पुर्याएको छ। सामाजिक उत्तरदायित्व र मानवीय सेवाको उदाहरणका रूपमा सम्पन्न उक्त कार्यक्रममा अन्य संघ–संस्था, क्लब तथा सरोकारवाला निकायहरूले पनि सक्रिय पहल गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

वीरगञ्ज महानगरपालिका वडा नं. ३ कार्यालय भवनमा आयोजित कार्यक्रममा Helping Youth Club of Birgunj ले समन्वय गरेको थियो। कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए।
रक्तदान कार्यक्रममा एक महिलासहित २२ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका छन्। रक्तदाता मध्ये निलु श्रेष्ठ, विशाल सरार्फ, निखिल सरार्फ, अमित सरार्फ लगायत रहेका थिए। आयोजकका अनुसार अत्यधिक गर्मी, दुर्घटना तथा विभिन्न रोगका बिरामीहरूको उपचारका क्रममा रगतको आवश्यकता बढेकाले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा प्रेस चौतारी पर्साका अध्यक्ष तथा वरिष्ठ सञ्चारकर्मी निरञ्जन मिश्र लगायत विभिन्न समाजसेवी, स्थानीयवासी तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका वक्ताहरूले वीरगञ्ज लगायत आसपासका अस्पतालहरूमा बेला–बेलामा रगत अभाव हुने समस्या दोहोरिने गरेको उल्लेख गर्दै यस्ता रक्तदान कार्यक्रमलाई अझ व्यापक बनाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले सामाजिक संघ–संस्था, युवा क्लब, व्यवसायिक संगठन तथा सरोकारवाला निकायहरूले नियमित रक्तदान कार्यक्रम सञ्चालन गरी मानवीय सेवामा योगदान दिनुपर्ने आवश्यकता औंल्याए।
आयोजकले रक्तदान जीवन बचाउने सबैभन्दा ठूलो मानवीय कार्य भएको उल्लेख गर्दै स्वस्थ नागरिकलाई नियमित रूपमा स्वेच्छिक रक्तदान गर्न आग्रह गरेका छन्। साथै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ।