कर्णालीमा खसेको गाडीका चालक – सहचालक आफ्नै दाजुभाइ , परिवारको पर्खाइ अझै जारी

Date:

पर्सा पोस्ट , असार २० गते , वीरगञ्ज ।
दैलेखस्थित कर्णाली नदीमा खसेको यात्रुवाहक गाडी दुर्घटनाले एउटै परिवारको सपना चकनाचुर बनाएको छ। दुर्घटनामा बेपत्ता भएका चालक २८ वर्षीय तुलाराम सुवेदी र सहचालक ३१ वर्षीय रामप्रसाद सुवेदी आफ्नै सहोदर दाजुभाइ रहेको खुलेपछि घटनाले थप मार्मिक रूप लिएको छ।

प्राप्त जानकारीअनुसार तुलारामले करिब पाँच महिनाअघि ऋण लिएर आफ्नै गाडी खरिद गरेका थिए। त्यसअघि उनी अरूकै गाडी चलाएर परिवारको गुजारा गर्दै आएका थिए। आफ्नै सवारी साधन भएपछि भारतमा रोजगारी गरिरहेका दाइ रामप्रसादलाई घर फर्काएर दुवै दाजुभाइले संयुक्त रूपमा गाडी सञ्चालन सुरु गरेका थिए। उनीहरूले उक्त रुटमा गाडी चलाउन थालेको करिब दुईदेखि तीन महिना मात्रै भएको थियो।

परिवारका सदस्यका अनुसार दुवै दाजुभाइले आफ्नै मेहनतबाट परिवारको भविष्य सुरक्षित बनाउने सपना देखेका थिए। तर दुर्भाग्यवश कर्णाली नदीमा भएको भीषण दुर्घटनाले उनीहरूको सपना अधुरै बनाइदिएको छ।

दुर्घटनाका बेला गाडीमा चालक र सहचालकसहित १४ जना सवार रहेका थिए। दुर्घटनापछि दुवै दाजुभाइसँगै अन्य यात्रुहरूको पनि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। बेपत्ता व्यक्तिका श्रीमती, साना छोराछोरी तथा आफन्त घटनास्थलमै पुगेर आफ्ना प्रियजनको प्रतीक्षामा रहेका छन्। उनीहरूले सरकारले खोजी तथा उद्धार कार्यलाई अझ प्रभावकारी र तीव्र बनाउनुपर्ने माग गरेका छन्।

लगातारको वर्षाका कारण कर्णाली नदीमा पानीको बहाव अत्यधिक बढेको छ। नदीको पानी धमिलो हुनुका साथै तीव्र बहावका कारण खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेको सुरक्षाकर्मीहरूले बताएका छन्। शुक्रबार बिहानदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र गोताखोर टोलीले संयुक्त रूपमा पुनः खोजी अभियान सञ्चालन गरिरहेका छन्।

हालसम्म दुर्घटनामा एक जनाको मात्र शव फेला परेको छ। मृतकको पहिचान कालिकोटको पचालझरना गाउँपालिका–९ निवासी ५४ वर्षीय जेखे तिरुवाका रूपमा भएको प्रहरीले जनाएको छ। अन्य बेपत्ता यात्रुको अवस्था अझै अज्ञात रहेको छ।

घटनापछि स्थानीयवासी तथा आफन्तहरू घटनास्थल वरपर भेला भएका छन्। परिवारजन भने अझै आफ्ना आफन्त सकुशल फिर्ता आउने आशामा नदी किनारमै प्रतीक्षारत छन्। दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...

वीरगञ्ज–२ छपकैयाबाट रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...