पर्सा पोस्ट , असार २० गते, वीरगंज ।
वीरगंजस्थित कुशवाहा मोटर्समाथि बिक्री गरेको ई–स्कुटरमा आगलागी भई ठूलो क्षति पुगेको घटनापछि पनि गैरजिम्मेवार व्यवहार देखाएको आरोप लागेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले छलफल तथा समन्वयका लागि दुई पटक बोलाउँदा समेत कम्पनीका सञ्चालक उपस्थित नभएको पीडित पक्षले जनाएको छ।
घटनापछि पीडित प्रदीप साहले जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दर्ता गर्दै घटनाको निष्पक्ष छानबिन, क्षतिपूर्ति तथा कानुनी कारबाहीको माग गरेका छन्। उनले विक्रेता कम्पनीले उपभोक्ताप्रति उत्तरदायित्व निर्वाह नगरेको तथा प्रशासनिक प्रक्रियालाई समेत बेवास्ता गरेको आरोप लगाएका छन्।
निवेदनअनुसार २०८३ जेठ २१ गते बिहान करिब ७ः४० बजे उनका बुबा किशन साह कानुको नाममा दर्ता रहेको म.प्र.०३–०३९ प १४४३ नम्बरको ई–स्कुटर घरभित्र पार्किङ अवस्थामा अचानक ब्याट्री पड्किएर आगलागी भएको थियो। आगलागीबाट स्कुटर पूर्ण रूपमा जलेर नष्ट भएको मात्र होइन, आगो घरको प्यासेज, भुइँतल्लाको कोठा, विद्युत् लाइन, सम्पूर्ण वायरिङ तथा इन्टरनेट राउटरसम्म फैलिएको उल्लेख गरिएको छ।
पीडितका अनुसार घटनाबाट करिब ५ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ। उक्त ई–स्कुटर वीरगंजस्थित कुशवाहा मोटर्सबाट खरिद गरिएको भन्दै विक्रेता कम्पनीलाई प्रत्यक्ष जिम्मेवार ठहर गरी कानुनबमोजिम क्षतिपूर्ति दिलाइदिन प्रशासनसँग माग गरिएको छ।
पीडित पक्षले ई–स्कुटरको ब्याट्रीको गुणस्तर, सुरक्षा मापदण्ड तथा बिक्रीपूर्व गरिएको प्राविधिक परीक्षणमाथि समेत गम्भीर प्रश्न उठाएका छन्। “यदि बिक्री गरिने विद्युतीय सवारीसाधनको गुणस्तर र सुरक्षा परीक्षण प्रभावकारी भएको भए यस्तो घटना हुने थिएन,” निवेदनमा उल्लेख गरिएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले विवाद समाधान तथा प्रारम्भिक छलफलका लागि विक्रेता पक्षलाई दुई पटक बोलाए पनि कम्पनीका सञ्चालक उपस्थित नभएको पीडितले बताएका छन्। प्रशासनको औपचारिक बोलावटसमेत बेवास्ता गरिएको घटनाले कम्पनीको उत्तरदायित्व र व्यवसायिक आचरणमाथि प्रश्न उठाएको स्थानीय उपभोक्ताहरूको भनाइ छ।
विद्युतीय सवारीसाधनको प्रयोग तीव्र रूपमा बढिरहेको अवस्थामा सुरक्षा मापदण्ड र बिक्रीपछिको जिम्मेवारीबारे सरकारी निकायको निगरानी प्रभावकारी हुनुपर्ने मागसमेत उठ्न थालेको छ। पछिल्ला वर्षहरूमा विभिन्न स्थानमा ई–स्कुटर तथा ब्याट्री पड्किने घटनाहरू सार्वजनिक भइरहेका बेला उपभोक्ताको सुरक्षामाथि गम्भीर चासो व्यक्त गरिएको छ।
पीडित पक्षले जिल्ला प्रशासन कार्यालयमार्फत विक्रेता कम्पनीलाई उपस्थित गराई घटनाको प्राविधिक परीक्षण, क्षतिको यथार्थ मूल्याङ्कन तथा कानुनअनुसार क्षतिपूर्ति दिलाउन माग गरेको छ।
यता, समाचार तयार पार्दासम्म कुशवाहा मोटर्सका तर्फबाट कुनै आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन।