भारत विकास परिषद रक्सौलद्वारा शाखास्तरीय कार्यशाला सम्पन्न , पाँच नयाँ सदस्य परिषद्मा

Date:

पर्सा पोस्ट , असार १९ गते , रक्सौल ।
भारत विकास परिषद्, शाखा–रक्सौलले शुक्रबार लक्ष्मीपुरस्थित महाराजा बैंक्वेट हलमा शाखास्तरीय कार्यशाला सम्पन्न गरेको छ। कार्यशालामा परिषद्को पाँच मूल सिद्धान्त—सम्पर्क, सहयोग, संस्कृति, सेवा र समर्पणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, संगठनात्मक अनुशासनलाई सुदृढ बनाउने तथा सेवा गतिविधिहरूलाई अझ व्यापक बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। साथै सदस्यता विस्तार अभियानअन्तर्गत पाँच जना नयाँ सदस्यलाई परिषद्मा औपचारिक रूपमा आबद्ध गराइएको छ।

शाखा अध्यक्ष रजनीश प्रियदर्शीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्रीय तथा प्रान्तीय पदाधिकारीहरूले दीप प्रज्वलन गर्दै भारत माता तथा स्वामी विवेकानन्दको तस्बिरमा पुष्प अर्पण गरी कार्यशालाको उद्घाटन गरेका थिए। कार्यक्रममा रक्सौलस्थित सरस्वती विद्या मन्दिरका विद्यार्थीहरूले सामूहिक रूपमा वन्दे मातरम् तथा स्वागत गीत प्रस्तुत गरेका थिए।

स्वागत मन्तव्य राख्दै शाखा अध्यक्ष प्रियदर्शीले भारत विकास परिषद् केवल सामाजिक संस्था मात्र नभई राष्ट्र निर्माणको अभियान भएको उल्लेख गरे। उनले परिषद्का प्रत्येक सदस्यले सेवा, संस्कृति र समर्पणको भावनाका साथ समाजको अन्तिम व्यक्तिसम्म पुग्ने उद्देश्यका साथ कार्य गरिरहेको बताए।

कार्यशालाको पहिलो सत्रमा क्षेत्रीय वित्त सचिव सीए के.के. चौधरीले परिषद्को विचारधारा, उद्देश्य, संगठनात्मक संरचना, शाखा सञ्चालन, प्रोटोकल, नियम तथा प्रक्रियाबारे विस्तृत जानकारी गराएका थिए। उनले अनुशासित र सक्रिय संगठनले मात्रै समाजमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउन सक्ने धारणा व्यक्त गरे।

संस्कार गतिविधिबारे बोल्दै प्रान्तीय अध्यक्ष श्रीमती पुतुल सिन्हाले परिवार र समाजमा नैतिक मूल्य तथा संस्कारको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताइन्। प्रान्तीय संगठन सचिव डा. नवनीत शाण्डिल्यले सेवा गतिविधिलाई परिषद्को मुख्य पहिचानको रूपमा उल्लेख गर्दै त्यसलाई जनस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिए।

यसैगरी, क्षेत्रीय सम्पर्क संयोजक अमरनाथ प्रसादले सदस्यता विस्तार र जनसम्पर्क अभियानलाई संगठनको आधार स्तम्भका रूपमा व्याख्या गर्दै प्रत्येक सदस्यलाई नयाँ सदस्य जोड्न सक्रिय हुन आग्रह गरे। महिला सहभागिताबारे बोल्दै श्रीमती धीरा गुप्ताले महिलाको सक्रिय सहभागिताले संस्थालाई थप प्रभावकारी र सफल बनाउने धारणा व्यक्त गरिन्।

दोस्रो सत्रमा श्री केशव कृष्णले वातावरण संरक्षणसम्बन्धी विषयमा जानकारी दिएका थिए भने सीए के.के. चौधरीले वित्तीय व्यवस्थापन, पारदर्शिता, परिषद्का नियम तथा पाँचवटै गतिविधिमा सदस्यहरूको जिम्मेवारीबारे प्रशिक्षण दिएका थिए। कार्यक्रममा परिषद्को मोबाइल एप र वेबसाइटको प्रभावकारी प्रयोगबारे समेत जानकारी गराइएको थियो। स्वतन्त्र विचार सत्रमा सहभागी सदस्यहरूले शाखाका गतिविधिहरूलाई अझ प्रभावकारी र जनमुखी बनाउन विभिन्न सुझाव प्रस्तुत गरेका थिए।

कार्यशालाको अवसरमा सदस्यता विस्तार अभियानअन्तर्गत पाँच जना नयाँ सदस्यलाई परिषद्मा स्वागत गरिएको थियो। नवप्रवेशी सदस्यहरूले परिषद्को आदर्श—सेवा, संस्कार, सहयोग, सम्पर्क र समर्पणलाई आत्मसात् गर्दै समाजहितमा कार्य गर्ने तथा संगठनात्मक अनुशासनको पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमको अन्त्यमा शाखा सचिव नरेश कुमारले धन्यवाद ज्ञापन गरेका थिए भने राष्ट्रिय गानसँगै कार्यक्रम समापन गरिएको थियो। त्यसपछि उपस्थित सबै सदस्यहरूले सामूहिक भोजनमा सहभागिता जनाएका थिए।

कार्यशालामा प्रान्तीय तथा क्षेत्रीय पदाधिकारी, शाखा पदाधिकारी, महिला सहभागिता प्रतिनिधि, विभिन्न गतिविधिका संयोजक तथा ठूलो संख्यामा परिषद्का सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम सफल बनाउन उत्तर बिहार सह–प्रान्तीय संघका निर्देशक प्रा. डा. राजकिशोर सिंह, नरेश कुमार, सुनील कुमार, उमेश सिकारिया, नितेश कुमार सिंह, बिमल कुमार सर्राफ, अजय कुमार, विजय कुमार साह, अरविन्द जयसवाल, विनोद रौनियार, सुरेश धनोठिया, जोगिन्दर प्रसादलगायतले सक्रिय भूमिका निर्वाह गरेका थिए।

कार्यक्रमसम्बन्धी जानकारी सम्पर्क संयोजक उमेश सिकारिया तथा सेवा संयोजक एवं मिडिया इन्चार्ज बिमल कुमार सर्राफले उपलब्ध गराएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...