पर्सा पोस्ट, असार १६ गते, वीरगञ्ज ।
वीरगञ्ज–सिमरा औद्योगिक करिडोरलाई हरित, जलवायु उत्थानशील तथा समावेशी औद्योगिक केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित ‘नेपालमा हरित औद्योगिक भविष्यका लागि ऊर्जा’ (पावर–गिफ) परियोजना सुरु गरिएको छ। नर्वे सरकारको आर्थिक सहयोगमा सञ्चालन हुने परियोजनाको क्षेत्रीय प्रारम्भिक कार्यशाला मंगलबार वीरगञ्जमा सम्पन्न भयो।

ग्रामीण प्रविधि केन्द्र, नेपाल विद्युत् प्राधिकरण, नेपाल उद्योग परिसंघ, ऊर्जा अध्ययन केन्द्र तथा आम्बिडियन्स ग्लोबलको कन्सोर्टियमद्वारा कार्यान्वयन हुने परियोजना सन् २०२८ फेब्रुअरीसम्म सञ्चालन हुनेछ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले उद्योग क्षेत्रमा स्वदेशी जलविद्युत्को प्रयोग बढाएर आयातित इन्धनको निर्भरता घटाउनुपर्ने बताउनुभयो। जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले परियोजनाले साना तथा मझौला उद्योगको उत्पादकत्व र प्रविधि प्रयोगमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

परियोजनाअन्तर्गत ऊर्जा लेखापरीक्षण, स्मार्ट ग्रिड, डिजिटल रूपान्तरण तथा स्वच्छ ऊर्जा प्रविधि प्रवर्द्धनमा काम गरिने जानकारी दिइएको छ। करिडोरका कम्तीमा ५० उद्योगमा स्वच्छ ऊर्जा प्रविधि प्रयोगमा ल्याई १७.५ गिगावाट आवर विद्युत् खपत वृद्धि, वार्षिक २ हजार २७ किलोलीटर जीवावशेष इन्धन घटाउने तथा ६ हजार २ सय ६७ टन कार्बन उत्सर्जन न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ।
त्यसैगरी १ हजार २ सयभन्दा बढी जनशक्तिलाई व्यावसायिक सुरक्षा, लैङ्गिक समानता र सामाजिक समावेशीकरणसम्बन्धी तालिम प्रदान गरिने जनाइएको छ। कार्यक्रममा उद्योगी व्यवसायी तथा सरोकारवालाले हरित औद्योगिक विकासका लागि सरकारी तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।