पर्सा पोस्ट, असार १५ गते, वीरगञ्ज ।
भोजपुरी भाषा, कला, संगीत तथा चलचित्र क्षेत्रमा दशकौँदेखि सक्रिय रहँदै महत्वपूर्ण योगदान पुर्याएका चर्चित गायक अशोक प्रधान लाई “लाइफटाइम अचिभमेन्ट अवार्ड २०२६” प्रदान गरिएको छ। वीरगञ्जस्थित होटल त्रीशलामा शनिबार साँझ आयोजित भव्य भोजपुरी अवार्ड शो २०२६ समारोहमा उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो।

टिम आदर्शनगरद्वारा आयोजित कार्यक्रममा भोजपुरी कला र संगीत क्षेत्रका विभिन्न स्रष्टा, कलाकार, समाजसेवी तथा सांस्कृतिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रम टिम आदर्शनगरका म्यानेजिङ डाइरेक्टर तथा गायक सद्दाम हुसेन को अध्यक्षता तथा वीरगञ्ज महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष हीराकाजी महर्जन को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि महर्जनले भोजपुरी भाषा, कला र संस्कृतिले मधेशको पहिचानलाई बलियो बनाएको उल्लेख गर्दै कलाकारहरू समाजका प्रेरणाका स्रोत भएको बताउनुभयो। उहाँले सांस्कृतिक धरोहर संरक्षणमा कलाकारहरूको भूमिका अतुलनीय रहेको धारणा राख्दै सम्मानित व्यक्तित्वहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।
सम्मान ग्रहणपछि गायक अशोक प्रधानले भोजपुरी कला र संगीतको विकासका लागि आफू निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आयोजक संस्थाले कलाकारहरूको सम्मान र प्रोत्साहनमार्फत सिर्जनशील क्षेत्रलाई ऊर्जा प्रदान गरेको उल्लेख गर्दै यस्तो अभियानले नयाँ पुस्तालाई पनि सांस्कृतिक क्षेत्रमा आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा भोजपुरी भाषा, कला, संगीत तथा चलचित्र क्षेत्रमा योगदान पुर्याएका हरिरत्न तुलाधर, सुनिल पण्डित, मेनुका रायमाझी, प्रकाश नेपाल, प्रभात यादव तथा सुशान्त सिंह ठकुरी लगायतलाई विभिन्न विधामा अवार्ड तथा सम्मान प्रदान गरिएको थियो।
आयोजक पक्षले आगामी दिनमा पनि भोजपुरी भाषा, कला, संगीत तथा चलचित्र क्षेत्रको प्रवर्द्धन र कलाकारहरूको सम्मानका लागि यस्ता कार्यक्रमलाई अझ व्यापक रूपमा निरन्तरता दिने जनाएको छ।