सकारात्मक सोच र आत्मविश्वासले जिवनलाई उचाइमा पुर्याउँछ : बिमल सरार्फ

Date:

पर्सा पोस्ट , असार १५ गते , रक्सौल, पूर्वी चम्पारण ।
लायन्स क्लब अफ रक्सौलका अध्यक्ष, सामाजिक कार्यकर्ता तथा भारत विकास परिषद् रक्सौलका सेवा संयोजक एवं मिडिया इन्चार्ज बिमल सर्राफले जीवनमा सकारात्मक सोच, आत्मविश्वास र मानवीय मूल्यको महत्त्वबारे आफ्ना विचार व्यक्त गरेका छन्। उनले प्रेससँग कुराकानी गर्दै मानिसले बाहिरी आवरणभन्दा पनि आफ्नो आचरण, व्यवहार र कर्मलाई सुधार गर्न आवश्यक रहेको बताए।

उनले को सन्त हो, को पापी हो, को महान हो, को तुच्छ हो भन्ने कुरा पूर्ण रूपमा छुट्याउन कठिन हुने उल्लेख गर्दै मानिसको वास्तविक पहिचान उसको नियत र कर्मबाट हुने धारणा राखे। “मानिससँग धेरै कुरा नहुन सक्छ, तर आफ्नो आस्था र विश्वास अनुसार भगवान भने अवश्य हुन्छन्,” उनले भने।
सर्राफले आजको समाजमा मानिसहरूबीच अविश्वास, प्रतिस्पर्धा र प्रभुत्व जमाउने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै सचेतना र आत्मविश्लेषण आवश्यक रहेको बताए। “यदि मानिस सचेत बन्यो भने झगडा, अहंकार र प्रभुत्व जमाउने प्रवृत्ति आफैं समाप्त हुन्छ,” उनले बताए।

उनले पूर्ण रूपमा सिद्ध बन्ने प्रयासले मानिसलाई तनावतर्फ धकेल्ने भन्दै हरेक दिन आफूलाई हिजोभन्दा राम्रो बनाउने प्रयास नै जीवनको सबैभन्दा ठूलो उपलब्धि भएको धारणा व्यक्त गरे। दैनिक बानी, व्यवहार, गुण र सीपमा सुधार ल्याउन सके जीवन सफल बन्ने उनले बताए।
उनले सबैलाई अन्धविश्वास गर्नु जोखिमपूर्ण भए पनि कसैमाथि विश्वास नै नगर्नु अझ खतरनाक हुने बताए। “ज्ञान हासिल गर्नुपर्छ, अज्ञानतालाई त्याग्नुपर्छ, भलाइ फैलाउनुपर्छ र दुष्टताबाट टाढा रहनुपर्छ,” उनले भने।

भगवानसँग प्रार्थना गर्दा आफूले नपाएका कुराभन्दा पनि बिना माग भगवानले दिएका अनगिन्ती वरदानप्रति कृतज्ञ हुनुपर्नेमा उनले जोड दिए। सम्बन्धलाई मजबुत बनाउन आपसी सम्मान, त्याग र समझदारी आवश्यक हुने उनको भनाइ थियो।

सर्राफले समय र भाग्य दुवै परिवर्तनशील हुने भएकाले कुनै पनि अवस्थामा घमण्ड नगर्न आग्रह गरे। “समयले धेरै कुरा सिकाउँछ। सकारात्मक सोच राख्दा आत्मविश्वास बलियो हुन्छ, तर नकारात्मक सोचले मानिसलाई कमजोर बनाउँछ,” उनले बताए।

उनको भनाइले समाजमा सकारात्मक सोच, नैतिकता र आत्मविश्वासको सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...