पर्सा पोस्ट , असार १५ गते , वीरगन्ज ।
वीरगन्ज महानगरपालिका कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाको आयोजनामा २३ औँ राष्ट्रिय धान दिवस, दही चिउरा खाने तथा धान रोपाइँ कार्यक्रम आइतबार भव्य रूपमा सम्पन्न भएको छ। यस वर्ष “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने मूल नाराका साथ दिवस मनाइएको हो।

कार्यक्रम वीरगन्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलम को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। खेतमै पुगेर धान रोपाइँ कार्यक्रमको शुभारम्भ गर्दै उहाँले जलवायु परिवर्तनका कारण कृषिमा देखिएको चुनौती सामना गर्न आधुनिक तथा जलवायुमैत्री प्रविधिको प्रयोग अपरिहार्य भएको बताउनुभयो। उहाँले किसानहरूलाई प्रविधिसँग जोड्दै कृषिमा आत्मनिर्भर बनाउने दिशामा महानगरपालिकाले विशेष प्राथमिकताका साथ काम गरिरहेको उल्लेख गर्नुभयो।

महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले स्थानीय तहमा कृषिको आधुनिकीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ। असार १५ को मौलिक परम्परालाई संरक्षण गर्दै व्यावसायिक कृषि प्रणालीतर्फ कृषकहरूलाई प्रेरित गर्ने लक्ष्यका साथ कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा महानगरका कर्मचारी, कृषि विज्ञ, स्थानीय जनप्रतिनिधि तथा कृषकहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले खेतमा सामूहिक रूपमा धान रोप्नुका साथै परम्पराअनुसार दही चिउरा खाएर शुभकामना आदानप्रदान गर्दै हर्षोल्लासका साथ राष्ट्रिय धान दिवस मनाएका थिए।
