पर्सा पोस्ट , असार १४ गते , बिरगंज । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित वीरगञ्जमा प्रथम सफल आमन्त्रण जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सफल तेक्वान्दो डोजाङद्वारा आयोजित उक्त प्रतियोगिता वीरगञ्जस्थित डायमण्ड पार्टी प्यालेसमा सम्पन्न भएको हो।
प्रतियोगितामा जिल्लाका विभिन्न तेक्वान्दो डोजाङका खेलाडीहरूबीच उत्साहजनक तथा प्रतिस्पर्धात्मक खेल प्रदर्शन भएको थियो। विभिन्न उमेर समूह र तौल समूहमा सम्पन्न प्रतिस्पर्धामा खेलाडीहरूले उत्कृष्ट क्षमता, अनुशासन र खेल भावना प्रस्तुत गरेका थिए।
प्रतियोगितामा सनसाइन तेक्वान्दो डोजाङले ७ स्वर्ण, ३ रजत र ६ कांस्य पदकसहित प्रथम स्थान हासिल गर्न सफल भयो। त्यसैगरी नगुवा तेक्वान्दो डोजाङले ५ स्वर्ण, ८ रजत र ८ कांस्य पदक जित्दै दोस्रो स्थान प्राप्त गरेको थियो भने आयोजक सफल तेक्वान्दो डोजाङले ३ स्वर्ण, ४ रजत र ३ कांस्य पदकसहित तेस्रो स्थान हासिल गरेको आयोजकले जनाएको छ। विजेता खेलाडी तथा टोलीलाई शिल्ड, मेडल, प्रमाणपत्र तथा सम्मानपत्र प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि पूर्व खानेपानी मन्त्री ओमप्रकाश शर्मा रहेका थिए। कार्यक्रममा बोल्दै उनले खेलकुदले युवाहरूलाई अनुशासित, स्वस्थ र सकारात्मक दिशातर्फ अग्रसर गराउने उल्लेख गर्दै यस्ता प्रतियोगिताले राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
विशिष्ट अतिथिका रूपमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक पटेल तथा पूर्व खेलाडी दीपक तिवारीको उपस्थिति रहेको थियो। त्यस्तै प्याब्सन नगर अध्यक्ष राहुल श्रीवास्तव, आम जनता पार्टीका विश्वराज पटेल, विभिन्न डोजाङका प्रशिक्षक, खेलाडी, अभिभावक तथा खेलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रतियोगिताका आयोजकहरूले तेक्वान्दो खेलको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा जिल्लास्तरीय खेल गतिविधिलाई थप सक्रिय बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताएका छन्। प्रतियोगिताले युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै अनुशासन, आत्मविश्वास, सहनशीलता र खेल संस्कृतिको विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रमको समापनमा आयोजक संस्थाले आगामी दिनमा अझ वृहत् रूपमा प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको थियो।