बिरगंजमा सरसफाइकर्मी आन्दोलन अन्त्य : सहमतिपछि आजैदेखि फोहोर व्यवस्थापन पुन: सञ्चालन

Date:

पर्सा पोस्ट , असार १४ गते , बिरगंज ।
वीरगंज महानगरपालिकामा विगत केही दिनदेखि देखिएको सरसफाइकर्मी आन्दोलन र फोहरमैला व्यवस्थापनसम्बन्धी विवाद अन्ततः सहमतिमार्फत समाधान भएको छ। महानगरपालिकाको पहलमा भएको बहुपक्षीय वार्तापछि आन्दोलनरत सरसफाइकर्मीहरूले सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिँदै आजैदेखि नियमित काममा फर्किने निर्णय गरेका छन्।

वीरगंज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रिय समन्वय तथा प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहोराको विशेष उपस्थितिमा महानगरको सभाहलमा भएको सघन छलफलपछि ठेकेदार कम्पनी र सरसफाइकर्मीबीच सहमति जुटेको हो। वार्तामा जनप्रतिनिधि, वडा अध्यक्ष, महानगर कर्मचारी तथा आन्दोलनरत पक्षका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

कार्यवाहक प्रमुख आलमले महानगरको सरसफाइ सेवा कुनै पनि हालतमा अवरुद्ध हुन नदिन श्रमिकहरूको जायज माग सम्बोधन गर्दै समाधान खोजिएको बताउनुभयो। उहाँले नगरलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने अभियानमा सरसफाइकर्मीहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूको श्रमको सम्मान गर्न महानगर प्रतिबद्ध रहेको धारणा राख्नुभयो।

प्रेस सल्लाहकार सदाब हुसैनका अनुसार सहमतिपत्रमा सरसफाइकर्मीहरूको पारिश्रमिक, कार्यसमय, सुरक्षा तथा श्रम अधिकारसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरू समेटिएका छन्। सहमतिअनुसार प्रत्येक महिनाको ५ देखि १० गतेभित्र अनिवार्य रूपमा तलब भुक्तानी गरिनेछ भने नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक सुनिश्चित गरिने भएको छ। साथै ८ घण्टाभन्दा बढी काम गराएमा नियमअनुसार अतिरिक्त समय (ओभर टाइम) भत्ता उपलब्ध गराइने सहमति भएको छ।

त्यसैगरी, कामको क्रममा घाइते हुने श्रमिकहरूको प्राथमिक उपचार खर्च ठेकेदार पक्षले व्यहोर्ने, सरसफाइकर्मीमाथि कुनै पनि प्रकारको अभद्र व्यवहार नगर्ने तथा आवश्यक सुरक्षा सामग्री समयमै उपलब्ध गराउने विषयमा समेत स्पष्ट सहमति भएको छ। नागरिकता सम्बन्धी प्राविधिक समस्याका कारण काम गुम्ने अवस्थामा रहेका रैथाने नेपाली सरसफाइकर्मीहरूलाई कामबाट नहटाइने मानवीय निर्णयसमेत सहमतिमा समावेश गरिएको छ।

सम्झौतापत्रमा ठेकेदार कम्पनी एन.के. इन्टरनेशनल मेनेजमेन्ट प्रा.लि. का सञ्चालक शिव कुमार गुप्ता तथा आन्दोलनरत पक्षका प्रतिनिधिहरू भुवालि मलिक, पिन्टु मलिक, चन्दन मलिक, किसन मलिक, चन्दा देवी, अखिलेश मलिक, विशाल मलिक र किसन मलिक (ड्राइभर) ले हस्ताक्षर गरेका छन्।

वार्तापछि सरसफाइकर्मीहरू काममा फर्किएसँगै वीरगंज महानगरभित्र रोकिएको फोहर संकलन तथा व्यवस्थापन कार्य पुनः सुचारु भएको छ। केही दिनयता विभिन्न स्थानमा थुप्रिएको फोहर तत्काल व्यवस्थापन गर्न महानगरले विशेष सरसफाइ अभियान सञ्चालन गर्ने तयारीसमेत गरेको जनाएको छ।

महानगरवासीले पनि सहमतिपछि सरसफाइ सेवा पुनः सञ्चालन भएकोमा राहत महसुस गरेका छन्।

महानगरपालिकाले आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन श्रमिक, ठेकेदार कम्पनी र स्थानीय सरकारबीच नियमित समन्वय तथा अनुगमनलाई थप प्रभावकारी बनाइने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट । उपभोक्ताको...

बिरगंज कपडा बैंकद्वारा नयाँ तथा पुराना ५ सय ५० थान कपडा बितरण

पर्सा पोस्ट , असोज १८ गते , वीरगन्ज । वीरगन्ज...

सामाजिक शिक्षा विषयको एकदिने शिक्षक तालिम भव्यताका साथ सम्पन्न

पर्सा पोस्ट ,  असोज १८ गते , वीरगञ्ज । नेसनल...