पर्सा पोस्ट, जेष्ठ ०८ गते, वीरगञ्ज ।
सामाजिक सेवामा सक्रिय वीरगन्ज कपडा बैंकले प्रत्येक महिनाजस्तै यस महिनामा पनि वीरगञ्जको घण्टाघरमा नियमित निःशुल्क कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ।
विपन्न, असहाय तथा आवश्यकतामा रहेका व्यक्तिहरूलाई लक्षित गर्दै आयोजित कार्यक्रममा नयाँ तथा पुराना गरी करिब ६ सय थान कपडा वितरण गरिएको बैंकका कोषाध्यक्ष मनोज मिश्राले जानकारी दिएका छन्।

बैंकले वीरगञ्ज–८ स्थित आफ्नो कार्यालयबाट हरेक आइतबारदेखि शुक्रबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तथा शनिबार दिउँसो १ बजेसम्म निःशुल्क कपडा उपलब्ध गराउँदै आएको जनाएको छ। संस्थाले विगत सात वर्षदेखि निरन्तर सामाजिक सेवामा सक्रिय रहँदै आएको छ।
कार्यक्रम लालबाबू सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि तथा बैंकका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मि ले “जो सँग धेरै कपडा छ दिएर जानुस्, नहुने वा आवश्यक पर्नेले निःशुल्क लिएर जानुस्” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै संस्था निरन्तर मानव सेवामा समर्पित रहेको बताए।

उनले आगलागी, बाढी लगायतका विपद्का बेला पीडितको घरदैलोमै पुगेर कपडा तथा अन्य राहत सामग्री वितरण गर्दै आएको उल्लेख गर्दै सबै नागरिकले आफ्नो आम्दानीको ५ देखि १० प्रतिशत रकम सामाजिक सेवामा खर्च गर्ने बानी बसाल्नुपर्ने धारणा व्यक्त गरे। साथै उनले संस्थालाई सहयोग गर्ने दाता, शुभेच्छुक, सञ्चारकर्मी तथा पदाधिकारीप्रति आभार प्रकट गरे।
कार्यक्रममा BPS +2 College का सञ्चालक दिपक पटेल ले “कोही पनि नाङ्गो नरहोस्” भन्ने उद्देश्यका साथ वीरगञ्ज कपडा बैंकले सञ्चालन गर्दै आएको अभियान अत्यन्त प्रशंसनीय रहेको बताए। उनले आफूलाई समय मिल्दा यस्ता सेवामूलक कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लाग्ने उल्लेख गर्दै बैंकको कार्यलाई थप प्रभावकारी बनाउन आफ्नो कलेजको तर्फबाट स्पिकर तथा माइक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
कार्यक्रममा अधिवक्ता पन्नालाल गुप्ता, अधिवक्ता प्रकाश उपाध्याय, सरदार जसपाल सिंह, नेपाल रेडक्रस सोसाइटी पर्सा का सभापति बृजकिशोर पटेल, नेपाल बार एसोसिएसन पर्साका सदस्य आशुतोष तिवारी, युवा समाजसेवी हुकुम सिंह राजपुत, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझी, बिरगंज युवा समाजका अध्यक्ष सन्जिव थापा लगायतको सहभागिता रहेको थियो।
त्यसैगरी सञ्चारकर्मी शम्भु महतो थारु, अजित भुजेल, सुरेन्द्र यादव, आकाश पटेल सहित बैंकका पदाधिकारी, सदस्य तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको समापन गर्दै अध्यक्ष लालबाबू सिंहले बैंकको अभियानलाई सहयोग गर्ने सम्पूर्ण दाता, सल्लाहकार, शुभेच्छुक, सञ्चारकर्मी तथा सहभागीहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि मानवीय सेवाका कार्यलाई अझ व्यापक बनाइने बताए।