पर्सा पोस्ट, जेष्ठ ७ गते, वीरगञ्ज।
नेपाल पत्रकार महासंघ पर्सा शाखामा देखिएको सदस्यता विवादले नयाँ मोड लिएको छ। सदस्यता शुद्धीकरणको माग गर्दै संघर्ष समिति गठन गरी शाखालाई तीन दिने अल्टिमेटम दिएका निवर्तमान अध्यक्ष अनुप तिवारीमाथि नै अहिले महासंघले कडा कदम चालेको छ।

महासंघ पर्सा शाखाले तिवारीलाई शाखाको निर्णयपुस्तिका (माइनुट), हरहिसाब, चलअचल सम्पत्तिको विवरण तथा अन्य आधिकारिक कागजात तीन दिनभित्र शाखा कार्यालयमा बुझाउन औपचारिक पत्र काटेको छ। तोकिएको समयभित्र कागजात उपलब्ध नगराए नियमानुसार आवश्यक प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ।
शुद्धीकरणको माग उल्टै पूर्व नेतृत्वमाथि भारी
<span;>तिवारी नेतृत्वकै कार्यकालमा वितरण गरिएका सदस्यतामाथि प्रश्न उठाउँदै हालै “सदस्यता शुद्धीकरण संघर्ष समिति” गठन गरिएको थियो। तिवारी स्वयं संयोजक रहेको उक्त समितिले शाखा अध्यक्ष ओमप्रकाश खनाललाई ज्ञापनपत्र बुझाउँदै सदस्यता शुद्धीकरण प्रक्रिया तत्काल सुरु गर्न तीन दिने अल्टिमेटम दिएको थियो।
तर अल्टिमेटमको तेस्रो दिनमै महासंघले उल्टै तिवारीसँग विगतका निर्णय र प्रक्रिया पुष्टि गर्ने कागजात मागेपछि घटनाक्रमले नयाँ राजनीतिक र संस्थागत मोड लिएको छ।
<span;>महासंघका अनुसार सदस्यता शुद्धीकरण प्रक्रिया अघि बढाउन विगतमा कुन आधार, प्रक्रिया र निर्णयमार्फत सदस्यता वितरण गरिएको थियो भन्ने तथ्य अध्ययन आवश्यक भएकाले तत्कालीन कार्यसमितिको माइनुट तथा अभिलेख अपरिहार्य बनेको हो।
@ “५१८ दिन बित्दा पनि हरहिसाब छैन”
शाखाका सचिव विजयकुमार महतोद्वारा जारी पत्रमा वर्तमान कार्यसमितिले जिम्मेवारी सम्हालेको लामो समय बितिसक्दा पनि पूर्व नेतृत्वबाट संस्थाको आधिकारिक कागजात हस्तान्तरण नभएको उल्लेख गरिएको छ।
पत्रअनुसार २०८१ पुस ३ गते बसेको शाखाको पहिलो बैठकले तत्कालीन कोषाध्यक्ष तथा हालका शाखा कोषाध्यक्ष सञ्जीव कुमार मिश्रलाई सम्पूर्ण हरहिसाब, चलअचल सम्पत्तिको लगत र आर्थिक विवरण ३० दिनभित्र पेश गर्ने जिम्मेवारी दिएको थियो। तर ५१८ दिन बितिसक्दासमेत ती विवरण उपलब्ध नगराइएको शाखाको दाबी छ।
महासंघले पटकपटक आग्रह गर्दा पनि तत्कालीन नेतृत्वले माइनुटलगायतका दस्तावेज बुझाउन आनाकानी गर्दै आएको आरोप पत्रमा उल्लेख छ।
@ केन्द्र र प्रदेशलाई पनि बोधार्थ:
महासंघ पर्साले तिवारीलाई पठाएको पत्रको बोधार्थ नेपाल पत्रकार महासंघ केन्द्र तथा मधेश प्रदेश समितिलाईसमेत पठाएको छ। यसले विवाद अब जिल्ला शाखामै सीमित नरही प्रदेश र केन्द्रको चासोको विषय बनेको संकेत गरेको छ।
@ पराजयपछि सुरु भयो शुद्धीकरण बहस:
तिवारी हालै सम्पन्न शाखा अधिवेशनमा दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवार बनेका थिए। तर निर्वाचनमा पराजित भएपछि उनले सदस्यता वितरण प्रक्रियामाथि प्रश्न उठाउँदै शुद्धीकरण अभियान सुरु गरेका हुन्।
यस घटनाले अहिले पत्रकार महासंघ पर्साभित्र संस्थागत पारदर्शिता, अभिलेख व्यवस्थापन र सदस्यता वितरण प्रक्रियामाथि गम्भीर बहस सिर्जना गरेको छ।
@ महासंघभित्र चर्किंदो प्रश्न:
महासंघभित्र अहिले केही गम्भीर प्रश्न उठ्न थालेका छन्—
यदि सदस्यता वितरण प्रक्रिया विधिसम्मत थियो भने माइनुट किन हस्तान्तरण भएन ?
@ ५१८ दिनसम्म आर्थिक तथा संस्थागत विवरण किन रोकियो ?
शुद्धीकरणको माग उठाउने पक्षले नै विगतका अभिलेख उपलब्ध नगराउँदा प्रक्रिया कसरी अघि बढ्छ ?
पर्सा शाखाको पछिल्लो कदमलाई धेरैले “संस्थागत जवाफदेहितातर्फको सुरुआती कठोर संकेत” का रूपमा समेत हेर्न थालेका छन्।