पर्सा पोस्ट , जेष्ठ ०६ गते , वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिकाले मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना प्रयोजनका लागि महानगरपालिका वडा नं. २१ मा रहेको ४ बिगाहा ५ कठ्ठा जग्गा उपलब्ध गराएको छ। शिक्षा क्षेत्रको विकास, गुणस्तरीय उच्च शिक्षाको पहुँच विस्तार तथा मधेश प्रदेशलाई शैक्षिक केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित महानगरपालिकाले उक्त महत्त्वपूर्ण निर्णय गरेको हो।
नगर प्रमुख राजेशमान सिंह तथा मधेश विश्वविद्यालयका उपकुलपति डा. दिपक शाक्यको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा महानगरपालिका बोर्डका सदस्य, शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तित्व, बुद्धिजीवी तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा वक्ताहरूले वीरगञ्जमा मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना हुनु केवल पूर्वाधार निर्माणको विषय मात्र नभई सम्पूर्ण मधेश प्रदेशको शैक्षिक भविष्यसँग जोडिएको ऐतिहासिक उपलब्धि भएको बताएका थिए। सहभागीहरूले यो निर्णयले वीरगञ्जलाई आगामी दिनमा ‘शैक्षिक हब’ का रूपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति डा. दिपक शाक्यले वीरगञ्ज महानगरपालिकाले विश्वविद्यालयको दीर्घकालीन भविष्यलाई केन्द्रमा राखेर गरेको सहयोग ऐतिहासिक र दूरदर्शी कदम भएको बताए। उनले विश्वविद्यालयको आफ्नै केन्द्रीय संरचना निर्माण भएपछि अध्ययन, अनुसन्धान, नवप्रवर्तन तथा शैक्षिक गतिविधिहरू थप व्यवस्थित र प्रभावकारी बन्ने उल्लेख गरे।
उनले भने, “वीरगञ्ज महानगरपालिकाले शिक्षा क्षेत्रप्रति देखाएको प्रतिबद्धता अत्यन्त प्रशंसनीय छ। विश्वविद्यालयको आफ्नै केन्द्रीय कार्यालय स्थापना भएपछि मधेश प्रदेशका विद्यार्थीहरूले आफ्नै प्रदेशमै गुणस्तरीय उच्च शिक्षा हासिल गर्ने अवसर प्राप्त गर्नेछन्। यसले विद्यार्थी पलायन रोक्न तथा स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादन गर्न समेत मद्दत पुग्नेछ।”
उपकुलपति शाक्यले महानगरपालिका बोर्डका सम्पूर्ण सदस्यहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा विश्वविद्यालय र स्थानीय तहबीच सहकार्य अझ मजबुत हुने विश्वास व्यक्त गरे।
त्यसैगरी नगर प्रमुख राजेशमान सिंहले शिक्षा, अनुसन्धान तथा मानव संसाधन विकासलाई महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मधेश विश्वविद्यालयलाई आवश्यक सबै प्रकारको सहयोग गर्न महानगर प्रतिबद्ध रहेको बताए। उनले वीरगञ्जलाई शिक्षा, स्वास्थ्य, व्यापार तथा औद्योगिक केन्द्रसँगै आधुनिक शैक्षिक शहरका रूपमा विकास गर्ने लक्ष्य रहेको स्पष्ट पारे।
स्थानीय शिक्षाप्रेमी, बुद्धिजीवी तथा नागरिक समाजका प्रतिनिधिहरूले महानगरपालिकाको यो निर्णयलाई ऐतिहासिक र दूरदर्शी कदमको रूपमा स्वागत गरेका छन्।
उनीहरूका अनुसार मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय वीरगञ्जमा स्थापना भएपछि शहरको शैक्षिक वातावरण थप सशक्त बन्नुका साथै आर्थिक, सामाजिक तथा बौद्धिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
विशेषज्ञहरूका अनुसार विश्वविद्यालयको स्थायी संरचना निर्माण भएपछि नयाँ शैक्षिक कार्यक्रम सञ्चालन, अनुसन्धान केन्द्र स्थापना, रोजगारीका अवसर सिर्जना तथा अन्तरप्रदेशीय शैक्षिक सहकार्य विस्तारमा समेत टेवा पुग्नेछ। यसले वीरगञ्जको समग्र विकास यात्रामा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।