अजित कुमार भुजेल, साउन २३ गते, वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर–१०, वीरगंजको संयुक्त पहलमा वीरगंज महानगरपालिका–४ स्थित मकालु चौकदेखि खानेपानी कार्यालयसम्मको सडक खण्डमा ‘नो पार्किङ’ बोर्ड जडान गरिएको छ।

सडक साँघुरो रहेको र चारपाङ्ग्रे सवारी साधनहरू अनधिकृत रूपमा पार्किङ गर्दा सवारी आवागमनमा अवरोध हुने तथा दुर्घटनाको सम्भावना बढेकाले यस्तो निर्णय गरिएको आयोजकहरूले जानकारी दिएका छन्।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकराज भट्ट तथा विशिष्ट अतिथि वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईंको उपस्थिति थियो। उनीहरूकै सहभागितामा सडक किनारमा ‘नो पार्किङ’ बोर्डहरू जडान गरिएको हो।

यस अवसरमा स्थानीयवासी तथा सवारी चालकहरूलाई सडकमा अनावश्यक रूपमा सवारी साधन नपार्क गर्न आग्रह गरिएको थियो। प्रमुख भट्टले भोलिदेखि अनधिकृत रूपमा पार्किङ गर्ने सवारी साधनहरूमाथि कडा कानुनी कारबाही गरिने चेतावनी दिएका छन्। उनले यस अभियानले सडक दुर्घटनाको जोखिम घटाउने र सवारी आवागमन सहज बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रम ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा ट्राफिक प्रहरी, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, स्थानीय समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।