अजित कुमार भुजेल , साउन २१ गते। बहुअरीस्थित वीरगन्ज हेल्थ केयर (BHC) अस्पतालमा जटिल अवस्थामा रहेको गर्भको शीशु र आमाको सफल शल्यक्रियामार्फत सकुशल प्रसूती गराउने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अभिभावकद्वारा सम्मान गरिएको छ।
वीरगन्ज महानगरपालिका–६ का राकेश मिश्राले अस्पतालकी प्रशासन प्रमुख तथा स्वास्थ्यकर्मी भूमिका अधिकारीलाई मायाको चिन्ह प्रदान गर्दै सम्मान गरेका हुन्। उनकी पत्नी अन्नु मिश्राको गर्भमा रहेको शिशुको अवस्था अत्यन्तै जटिल बनिसकेको अवस्थामा भूमिका अधिकारी, डा. रमोला साह र अन्य स्वास्थ्यकर्मीको टोलीले आपतकालीन शल्यक्रियामार्फत आमा र शिशुको ज्यान बचाएका थिए।
भूमिका अधिकारीका अनुसार, प्रसूती मिति आउन अझै १० दिन बाँकी रहेको अवस्थामा गत आइतबार अन्नुलाई चेकजाँचको लागि अस्पताल ल्याइएको थियो। परीक्षणको क्रममा गर्भभित्रको शिशु कम चलिरहेको देखिएपछि तत्काल भर्ना गरिएको थियो। शीशुको अवस्था जोखिमपूर्ण देखिएपछि सोही रात डा. साह र अधिकारीको नेतृत्वमा रहेको टोलीले आपतकालीन शल्यक्रियाको निर्णय लिएको थियो।
शल्यक्रिया कठिन भए पनि स्वास्थ्यकर्मीको अथक प्रयासले प्रसूती सफल भएको अधिकारीले जानकारी दिइन्। शल्यक्रियापछि तीन दिनसम्म आमा र शिशुलाई अस्पतालमै निगरानीमा राखिएको थियो। स्वास्थ्यमा सुधार आएपछि बिहीबार उनीहरूलाई घर पठाइएको हो।
अभिभावक मिश्राले संकटको घडीमा जीवन रक्षा गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीको समर्पण र भूमिकालाई अविस्मरणीय भन्दै अस्पतालप्रति विशेष आभार प्रकट गरेका छन्।