अजित कुमार भुजेल, श्रावण २० गते ,बिरगंज । लायन्स क्लब अफ सेन्ट्रल सिटी वीरगञ्जले सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग गरेको छ। मंगलबार क्लबकी अध्यक्ष सुशीला साहको नेतृत्वमा २ बोरा, २ कार्टुन र ६ झोला कपडा वीरगञ्ज कपडा बैंकको कार्यालयमा हस्तान्तरण गरिएको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा क्लबका जोन पर्सन डा. लक्ष्मी थापा, डिन्ट्रिक चेयर पर्सन गुड्डी जोशी, उपाध्यक्ष देवन्ती साह, सचिव कविता खड्का, सदस्यहरू सरिता सिंह, जयन्ती चतुर्वेदी, रेखा ओझा तथा वीरगञ्ज कपडा बैंकका सल्लाहकार अधिवक्ता प्रकाश उपाध्याय, श्रवण बहादुर रायमाझी, सचिव कन्हैया पटेल, कोषाध्यक्ष मनोज मिश्रा, सदस्यहरू नवराज भट्टराई, कुन्दन मिश्रालगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा क्लब अध्यक्ष साहले वीरगञ्ज कपडा बैंकले विगत केही वर्षदेखि गरिब, असहाय, आगलागी तथा बाढी पीडितहरूलाई लक्षित गरी सेवा गरिरहेको कार्यप्रति प्रशंसा गर्दै क्लबको तर्फबाट निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता जनाइन्। उनले भनिन्, “हामीले पहिले पनि कपडा सहयोग गरेका थियौं, अहिले पनि लिएर आएका छौं र भविष्यमा पनि यो अभियानमा साथ दिन तयार छौं।”
वीरगञ्ज कपडा बैंकका सल्लाहकार प्रकाश उपाध्यायले “तपाईंसँग धेरै छ भने दिनुहोस्, छैन भने नि:शुल्क लिनुहोस्” भन्ने नारालाई आत्मसात गर्दै विगत ६ वर्षदेखि वीरगञ्ज–८ मा कार्यालय स्थापना गरी पर्सा र बाराका विभिन्न क्षेत्रमा सेवा दिइरहेको जानकारी दिए। उनले सहयोगी हातहरूलाई हार्दिक धन्यवादसमेत व्यक्त गरे।
कार्यक्रममा कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले लायन्स क्लब अफ सेन्ट्रल सिटीद्वारा नियमित रूपमा गरिएको सहयोगप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता सहकार्यले अझ धेरै बिपन्न वर्ग लाभान्वित हुने बिश्वास व्यक्त गरे ।