जित कुमार भुजेल, श्रावण १८ गते । विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै वीरगञ्ज महानगरपालिका–१० निवासी युवा खेलाडी अरनीस गुप्ताले ऐतिहासिक सफलता हात पारेका छन्।
डेनमार्कको होरिङ स्टेडियममा जुलाई २० देखि २७ तारिखसम्म सम्पन्न प्रतियोगितामा AG10 Academy (Goals Academy) बाट अन्डर–१४ समूहमा खेल्दै उनले टिमलाई समूह विजेता बनाउने महत्वपूर्ण भूमिका खेलेका थिए।
फाइनल खेलमा केन्याको LEIT Soccer Academy लाई ३–१ गोल अन्तरले पराजित गर्दै नेपाली टिमले उपाधि जित्दा गुप्ताले राईट फरवार्डको भूमिकामा रहेर निर्णायक एक गोल गरेका थिए।
यो सफलता सम्मान गर्दै वीरगञ्ज महानगरपालिकाले नगरप्रमुख राजेशमान सिंहद्वारा प्रशंसा पत्र प्रदान गरेर उनलाई विशेष सम्मान गरेको छ। कार्यक्रममा नेपाल ईनोभेट सोसाइटी वीरगञ्जका अध्यक्ष कमल चौगाई, सत्यराज घिमिरे सहितका व्यक्तिहरूको उपस्थिति थियो।
उक्त प्रतियोगितामा ब्राजिल, मेक्सिको, डेनमार्क, स्पेन, नर्वे, युएई, क्यानडा, अमेरिका लगायत ५० भन्दा बढी देशका २५०० एकेडेमी सहभागी थिए। नगरप्रमुख सिंहले भने, “अरनीसको यो उपलब्धिले वीरगञ्ज मात्र होइन, देशको पनि गौरव बढाएको छ।”
वीरगञ्ज महानगरपालिकाले युवा प्रतिभाको प्रोत्साहन र सम्मानमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा निरन्तर साथ दिने प्रतिबद्धता जनाएको छ।
अरनीस गुप्ताको मेहनत, लगन र उपलब्धिले स्थानीय युवा खेलाडीका लागि प्रेरणाको स्रोत बनेको विश्वास लिइएको छ।