अजित कुमार भुजेल , श्रावण १३ गते , बिरगंज । लायन्स क्लब अफ बिरगंज परिवारको संयोजनमा आज बिरगंजस्थित पवित्र पशुपतिनाथ मन्दिर परिसरमा भव्य रूपमा सरसफाइ सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ।
लायन्स क्लब अफ वीरगंज कुटुम्ब, एक्सिलेन्स, फ्रेन्डजोन, सर्वोत्तम र सहयोगी क्लबको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रम लायन्स डिस्ट्रीक्ट 325 S को वार्षिक कार्ययोजना अन्तर्गत गरिएको हो।
“प्लास्टिक झोला प्रयोग नगरौं” र “म मन्दिर फोहर गर्दिन” भन्ने सशक्त नारासहित प्लास्टिक मुक्त वातावरण र धार्मिक स्थलमा स्वच्छताको सन्देश फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएका छन्।
कार्यक्रमका अध्यक्ष लायन नरोत्तम पाण्डेले धार्मिक तथा सार्वजनिक स्थलहरू सफा राख्नु केवल कर्तव्य नभई हाम्रो संस्कार पनि भएको बताउँदै भने,
“हामीले सरसफाइ सामग्री मात्र होइन, मन्दिर परिसर सफा राख्ने प्रेरणा पनि हस्तान्तरण गरेका छौं।”
उक्त कार्यक्रममा लायन बासु तिमल्सिना, कविता खड्का, श्याम गुप्तालगायत विभिन्न लायन्स क्लबका सदस्यहरूको सक्रिय उपस्थिति थियो।
कार्यक्रमको क्रममा पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिलाई आवश्यक सरसफाइ सामग्रीहरू हस्तान्तरण गरिनुका साथै मन्दिर परिसरलाई स्वच्छ राख्ने सार्वजनिक प्रतिज्ञा पनि गरिएको थियो।
आयोजकका अनुसार यस्तो अभियानले धार्मिक तथा ऐतिहासिक स्थलहरूमा सरसफाइप्रति जनचेतना फैलाउनुका साथै सामाजिक उत्तरदायित्व, पर्यावरणीय चेतना र साझा सहभागिताको सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।
यसले स्थानीय श्रद्धालुहरूमा उत्साह जगाउँदै बिरगंजलाई सफा, हरित र स्वस्थ बनाउने अभियानमा थप ऊर्जा प्रदान गरेको आयोजकहरूको विश्वास छ।