अजित कुमार भुजेल , श्रावण १३ गते, बिरगंज । आज देशभर सनातन धर्मावलम्बीहरूले नागपञ्चमी पर्व श्रद्धा, भक्ति र आस्थाका साथ मनाइरहेका छन्।
विशेषगरी तराईका क्षेत्रहरूमा र बिरगंजको अलखियामठ, चिनीमिलस्थित पशुपतिनाथ मन्दिर लगायतका नागस्थलहरूमा विशेष पूजा–आराधना गरिएको छ।
सावन महिनाको शुक्ल पञ्चमीका दिन मनाइने यो पौराणिक पर्वमा नागदेवताको पूजा गरिने चलन छ। आजको दिन गाईको दूध, लावा, दुबो, अक्षता, फूल, पैसा लगायतका सामग्री चढाएर नागलाई आदरपूर्वक पूजा गरिन्छ।
धार्मिक विश्वासअनुसार नागको पूजा गर्दा घर परिवारलाई सर्प, नाग, बिच्छी जस्ता जीवजन्तुको प्रकोपबाट बचाउन सकिन्छ भन्ने जनविश्वास रहिआएको छ। साथै यस दिन घरको मूलढोकामा नागको चित्र टाँस्ने परम्परा छ, जसले अग्नि, चट्याङ र प्राकृतिक विपत्तिबाट सुरक्षा दिने विश्वास गरिन्छ।
वैदिककालदेखि प्रचलनमा आएको नागपञ्चमी पर्वमा नागलाई ‘सर्पराजा’ को रुपमा पूजा गरिन्छ। पानीका स्रोतसँग सम्बन्धित नागलाई प्रसन्न पार्दा वर्षा पर्याप्त हुने र प्राकृतिक सन्तुलन कायम रहने मान्यता छ। बराहपुराण अनुसार आजकै दिन नागराज र ब्रह्माबीच संवाद भएको दिन भएकाले यो दिनलाई विशेष मानिन्छ।
नागपञ्चमीका अवसरमा देशभरका मठ–मन्दिर, घर–घरमा पूजा, भजनकीर्तन र धार्मिक कार्यक्रमहरू आयोजना गरिएका छन्। बिरगंजसहित देशभर शान्तिपूर्ण र भक्तिपूर्ण वातावरणमा पर्व मनाइँदैछ।